खेलकुद

बैतडीमा क्रिकेट छनोटको मिति परिवर्तन

७ भदौ, बैतडी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीमा जिल्लास्तरीय क्रिकेट छनोट प्रतियोगिताको मिति परिवर्तन गरिएको छ । यसअघि भदौ १४ र १५ गते हुने भनिएको छनोट प्रतियोगिताको मिति परिवर्तन गर्दै भदौ १० गते राखिएको हो । नेपाल क्रिकेट सङ्घले आयोजना गर्न लागेको नेपाल टी ट्वान्टी लिग र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति एकै समयमा पर्न गएपछि नयाँ मिति तय गरिएको हो ।

यसअघि असोजमा हुने तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता मिति परिवर्तन गरेर भदौ २२ गतेदेखि गर्ने निर्णय भएसँगै जिल्लास्तरीय छनोट पनि अघि गर्न लागिएको जनाइएको छ ।  

जिल्लास्तरीय पुरुष र महिला क्रिकेट छनोट प्रतियोगिता भदौ १० गते देहिमाडौँ खेलमैदानमा सञ्चालन हुने बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए।  

यसअघि भदौ १४ गते देहिमाडौँ खेलमैदानमा पुरुष क्रिकेट र भदौ १५ गते सोही मैदानमा महिला क्रिकेट छनोट प्रतियोगिता सञ्चालन गर्ने मिति तय भएकामा परिवर्तन गरिएको हो ।   

बैतडी जिल्ला खेलकुद विकास समितिका प्रमुख तर्कराज जोशीका अनुसार अन्य छनोट प्रतियोगिता भने साबिककै मितिअनुसार हुनेछन् । 

यही भदौ १० गते पहिलो दिन टेबल टेनिस (महिला/पुरुष), बुद्धिचाल भारत्तोलन पुरुष, कराते, तेक्वान्दो (महिला/पुरुष), छनोट सदरमुकाममा हुनेछ । भदौ ११ गते सदरमुकाममै ब्याडमिन्टन (महिला/पुरुष), उसु फुल कन्ट्याक्ट कराते (महिला/पुरुष), मेलौली खेल मैदानमा भलिबल (महिला/पुरुष) छनोट भदौ १२ गते हुने जनाइएको छ । 

यस्तै भदौ १३ गते पाटन खेल मैदानमा कबड्डी (महिला/पुरुष), एथलेटिक्स (महिला/पुरुष), फुटबल, बक्सिङ ( पुरुष) छनोट प्रतियोगिता सञ्चालन हुने बैतडी जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।  

दर्ता फारम नभरेका खेलाडीलाई छनोटमा सहभागी नगराइने र छनोट प्रतियोगितामा सहभागी नभएका खेलाडीलाई छनोट नगरिनेसमेत सूचनामार्फत जनाइएको छ । छनोट प्रतियोगितामा सहभागी हुनका लागि यहाँका तीन सय २९ खेलाडीले आवेदन भरेका छन् ।  

जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुन पाउनेछन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुरुष क्रिकेटबाहेक आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने तय भएको छ ।