मनोरञ्जन

कला, संस्कृतिको विकास भएमात्र देशको विकास हुन्छः काँग्रेस नेत्री कोइराला

८ भदौ, काठमाडौं । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले राज्यले कला र संस्कृतिलाई महत्व दिन नसकेको गुनासो गरेका छन् । गिरिजाप्रसाद कोइराला फाउन्डेशन, कला तथा संस्कृति विभागले आज नेपाल कला परिषद् बबरमहलमा आयोजना गरेको ‘कला प्रदर्शनी’को उद्घाटन गर्दै उनले कला र संस्कृतिको विकासका लागि सरकारले काम गर्न नसकेको गुनासो गरे ।

“कला, संस्कृतिको विकास भएमात्र देशको विकास हुन्छ”, उनले भने । नेत्री कोइरालाले जीपी कोइराला फाउन्डेशनले विगत चार वर्षदेखि छुट्टै विभाग स्थापना गरी कला र संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्दै आइरहेको उल्लेख गरे । कलाकारभित्र लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउनका लागि कला प्रदर्शनीले सहयोग पुग्ने उनको भनाइ थियो ।

फाउन्डेशनकी अध्यक्ष कोइरालाले जीपी कोइराला फाउन्डेशनले विगत १२ वर्षदेखि खोज, अनुसन्धान र सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको स्पष्ट पारे। उनले पछिल्लो समय मुलुकमा प्रविधिको प्रयोग बढे पनि इतिहासलाई संरक्षण र सम्बद्र्धन गर्नका लागि यस्ता प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गरे।

नेपाल सांस्कृतिक सङ्घका अध्यक्ष तीर्थ थापाले राज्य कला र संस्कृतिको सम्मान राज्यले गर्नुपर्ने बताए। “जुन देशमा कला र संस्कृतिमा सम्मान र लगानी हुन्छ, त्यो देश सम्पन्न भएको ठहरिन्छ”, उनले भने । संस्कृति भएन भने देशको पहिचान गुम्ने उनको भनाइ थियो । अध्यक्ष थापाले आफ्नो माउ पार्टी कांग्रेस र संसद्मा सांस्कृतिक क्षेत्रको प्रतिनिधित्व हुनुपर्ने बताए ।

ध्याने बुद्ध फाउन्डेशनका अध्यक्ष राजु शाक्य, वरिष्ठ कलाकार गेहेन्द्रमान अमात्यले कला देशको पहिचान गराउने माध्याम भएकाले कलाको विकासमा सबै लाग्नुपर्ने बताए । उनीहरूले नेपाली कलाकारले कोरेका कला बिक्रीवितरण नहुँदा कलाकारहरू समस्यामा परेको उल्लेख गरे ।

जीपी कोइराला फाउन्डेशन कला तथा संस्कृति विभाग प्रमुख एवं मिथिला येँ आर्ट ग्यालरीका संस्थापक श्यामसुन्दर यादवले प्रकृति र संस्कृतिको धनी नेपाललाई कलामार्फत विश्वमाझ फैलाउनुपर्ने बताए । उनले जीपी फाउन्डेशन कला तथा संस्कृति विभागले विभिन्न समयमा कला प्रदर्शनी गर्दै आएको उल्लेख गरे ।

प्रदर्शनीमा नेपालका वरिष्ठ कलाकार अमात्य, किरण मानन्धर, विभूषण ताम्राकार, नरेश सैँजु, जीवनराज उपाध्याय, गौतमरत्न तुलाधर बज्राचार्य, लय मैनाली, महेश आचार्य, जया शर्मा, रेनु यादवलगायतका २८ कलाकारको कला प्रदर्शनमा राखिएको छ । उक्त प्रदर्शन यही भदौ ११ गते शनिबारसम्म चल्नेछ ।