प्रदेश 1

खोटाङको भुत्ते–आयुर्वेद सडकखण्ड ढलान अधुरै

९ भदौ, खोटाङ । खोटाङको दिक्तेलस्थित भुत्ते–आयुर्वेद सडकखण्ड ढलानको काम अधुरै छाडिएको छ । काम गर्ने ठेकेदार कम्पनीले सो काम बीचमै छाडेको हो ।

जिल्ला आयुर्वेद कार्यालय हुँदै दिक्तेल–दुम्ली जोड्ने सडक ढलानको ठेक्का लिएको जेपी–लगलगे जेभीका ठेकेदारले ढलान गर्दागर्दै फलामे रड बिछ्याएर काम छाडेपछि हिँडडुल गर्नसमेत समस्या भएको छ । सडकको केही ठाउँमा ढलान गरिएको छ भने केही ठाउँमा रडमात्र बिच्छ्याइएको छ । ढलान गर्न तयारी गरिएको अवस्थामा दुई महिनादेखि ठेकेदार बेपत्ता भएको स्थानीय बासिन्दाले बताएका छन् ।

सडकमा रड बिच्छ्याएर छाडेपछि पशुचौपाया हिँडाउनसमेत समस्या भएको स्थानीय टङ्कप्रसाद आचार्यले बताए । “हामीले लेकबेँसी गर्नेदेखि पानीपधेँरो जाने बाटो यही हो”, उनले भने, “गाईबस्तु यही बाटो हिँडाउनुपर्छ तर, बाटोभरि रड बिच्छ्याएर छाडिएको छ । रडमा अल्झिएर खुट्टा भाँचिन्छ भन्ने ठूलो डर छ । यसप्रति सम्बन्धित निकायको  ध्यान जान सकेको छैन ।”

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईंको टोलीले बुधबार उक्त सडकको अनुगमन गरेका छन् । अनुगमनकै क्रममा निर्माण कम्पनीका प्रमुखलाई प्रजिअ सेडाईंले फोनमार्फत तुरुन्त काम सम्पन्न गर्न निर्देशन दिएका छने । 

असी घनमिटर आरसीसी ढलान, ९१ घनमिटर सोलिङ र ८४ घनमिटर मेसीनरी वाल निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुङ्गाले रु ४२ लाख ३२ हजारको इस्टिमेट निकालेपनि निर्माण कम्पनीले रु २३ लाख ६८ हजारमा ठेक्का पाएको थियो । इस्टिमेटभन्दा झण्डै आधा रकममा यसै वर्ष वैशाखमा काम सक्ने २०७८ माघमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । 

बीचैमा छाडिएको सडकको काम तत्काल सम्पन्न गरेर सहजता नबनाए कानुनी प्रक्रिया अगाडि बढाइने नगर प्रमुख भट्टराईले बताए । “सडक ढलानमा ठेकेदारको लापर्बाही देखिएको छ”, उनले भने । म्याद सकिएको चार महिना भइसक्दा पनि ७० प्रतिशत मात्र काम पूरा भएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयका इन्जिनियर सञ्जयकुमार चौधरीले बताए । 

यसैबीच सोही निर्माण कम्पनीले नगरभित्रकै अन्य दुई योजना पनि अधुरै छाडेको पाइएको छ । हाडडाँडा काफ्ले गाउँ–धुम्ती बरडाँडा सडकको ढलान, सोलिङ र मेसिनरी वाल निर्माण ४५ प्रतिशत मात्र भएको इन्जिनियर चौधरीले बताए । रु ६६ लाख २२ हजारमा ठेक्का सम्झौता भएको उक्त योजनाको गत जेठमै म्याद सकिएको हो ।

यस्तै, दोर्पा–दुम्ली सडकको काम पनि सोही निर्माण कम्पनीले जिम्मा लिएपनि काम सम्पन्न नगरी छाडेको छ । रु ४२ लाख ३६ हजारमा ठेक्का सम्झौता भएको उक्त योजनाको म्याद पनि गत वैशाखमा सकिएको हो । काम सम्पन्न गर्न सम्झौता मिति सकिँदा पनि सरकारको सार्वजनिक खरिद १२औँ संशोधन नियमावली, २०७९ अनुसार देशभरका सबै योजनाको सम्झौता अवधि एक वर्षलाई थपिँदा निर्माण कम्पनीलाई सहज भएको छ ।