प्रदेश 1

निगुरो बेचेर घरखर्च, पढाइ खर्च जुटाउदै

९ भाद्र, पथरी । सुनसरीको इटहरी–१० की शर्मिला चौधरी दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप्छन् । उनले वैशाखदेखि कात्तिकसम्म निगुरो टिपेरै आफ्नो छ जनाको परिवारको खर्च चलाउँदै आएका छन् । दैनिक रु चार सयदेखि रु छ सयसम्म आम्दानी हुने चौधरीले बताए ।

शर्मिलाजस्तै कमला चौधरीले पनि परिवार पाल्न र छोराछोरीको पढाइ खर्च जुटाउन निगुरो टिप्ने गरेको बताए । पूर्वी मोरङको पथरीशनिश्चरे, कानेपोखरी, लेटाङ, भाउन्ने, लक्ष्मीमार्गलगायत सामुदायिक वनमा निगुरो प्रशस्त पाइन्छ । स्थानीय बजारदेखि काठमाडौँका भान्सासम्म पुग्ने यहाँको निगुरोले सयौँको सङ्ख्यामा स्थानीयलाई रोजगारी दिएको छ । 

चैत सुरु भएदेखि पूर्वी मोरङका जङ्गलमा डोको बोकेर निगुरो खोज्नेको ताँती लाग्छ । बिहान झिसमीसेमै जङ्गल पसेका महिला तथा बालबालिका डोको भरी निगुरो बोकेर निस्कन्छन् । उक्त समयमा जङ्गलमै सिराहा, सप्तरीदेखि झापाको काँकडभिट्टासम्मका व्यापारी भेला भइसकेका हुन्छन् । स्कुले बालबालिकासमेत बिदामा स्टेशनरीको जोहो गर्न निगुरो टिप्न आउँछन् । 

वन आसपास बस्दै आएका धेरै बालबालिकाले निगुरो टिपेर पढाइ खर्च जुटाउने गरेका छन् । विद्यालय पढ्ने बालबालिकादेखि कलेज पढ्दै गरेका किशोरकिशोरीले समेत बिदाको समयमा निगुरो टिप्ने गरेका छन् । दुई दशकदेखि पथरी र बेलबारीबीचका जङ्गलको निगुरो सङ्कलन गर्दै धरान, विराटनगर, इटहरी, दमक र बिर्तामोड लगरे बिक्री गर्दै आएको विराटनगरकी सिया चौधरीले बताए ।

पथरी शनिश्चरे, लेटाङ र बेलबारी नगरका साझेदारी वन क्षेत्रमा दैनिक तीन÷चार सयजनाले निगुरो टिप्दै आएका छन । धेरै मजदुरले दैनिक निगुरो बेचेरै परिवारको खर्च चलाउँदै आएका छन् । यस क्षेत्रबाट दैनिक निगुरो सङ्कलन गरी पूर्वका विभिन्न बजारमा बिक्री गर्न लैजाने गरेको खोर्सनेका जितेन्द्र चौधरीको भनाइ छ ।

काठमाडौँसम्मका व्यापारी निगुरो लैजाने गरेका छन् । शनिश्चरे, लेटाङ र बेलबारी क्षेत्रबाट दैनिक निगुरो काठमाडौँ लैजाने गरिएको स्थानीय व्यापारी कौशिला माझीले बताए । माझीका अनुसार यस वर्ष भने पहिलाको तुलनामा निगुरो उत्पादनमा कमी आएको छ ।