प्रवास

एनआरएनको एसिया क्षेत्रीय बैठक बैंककमा सुरु

११ भदौ, बैंकक (थाइल्याण्ड) । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को नवौँ ससिया क्षेत्रीय बैठक थाइल्याण्डको राजधानी बैंककमा आजदेखि सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि, युरोप, अमेरिका ओसियाना, अफ्रिका तथा मध्यपूर्वका झण्डै तीन सय प्रतिनिधिको सहभागिता छ ।

सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले संविधानले नै गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक अधिकार प्रदान गरेको र दोहोरो नागरिकताको अधिकार प्रत्याभूत गरेको सन्दर्भमा सरकारले नागरिकता विधेयक संसद्बाट पारित गरिसकेपछि केही समस्या आए पनि यसलाई प्रतिनिधिसभाले पुनः पारित गरिसकेको बताए । आइतबार बस्ने राष्ट्रियसभाले पनि उक्त विधेयक पारित गर्ने उनले विश्वास व्यक्त गरे ।

मन्त्री कुँवरले देशलाई आपत–विपद् परेको अवस्थामा पनि गैरआवासीय नेपालीले आर्थिक, भौतिक र मानवीय सहयोग गरेर अविस्मरणीय योगदान गरेको स्मरण गरे । झण्डै ५० लाख नेपाली युवा वैदेशिक रोजगारमा जाँदा ठूलो श्रम र पूँजी विदेश पलायन हुने गरेको उल्लेख गर्दै उनले नेपाललाई नै श्रम बजारको रूपमा विकास गर्ने गरी यसलाई मर्यादित र व्यवस्थित गर्नुपर्ने खाँचो औँल्याए। विदेशमा रहेका नेपाली राजदूत र श्रम गन्तव्य रहेका देशका राजदूतसँग श्रम पूँजीलाई अझ प्रभावकारी बनाउन श्रम कूटनीतिमा जोड दिइएको उनको भनाइ छ ।

गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र कँडेल शर्माले विश्वमा अवैतनिक पर्यटन दूतको रूपमा रहेका एनआरएनका प्रतिनिधिहरूले बढीभन्दा बढी पर्यटक नेपाल पठाउन आग्रह गरे ।

सांसद डा सूर्य पाठकले गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्छ भन्ने विषयमा राजनीतिक दलबीच मतभिन्नता नभएकाले छिट्टै नागरिकता ऐन पारित हुने उल्लेख गर्दै मुलुकमा लगानीको प्रशस्त सम्भावना रहेकाले एनआरएनको भूमिका अग्रणी रहेको उल्लेख गरे ।

थाइल्याण्डका लागि नेपाली राजदूत गणेशप्रसाद ढकालले यहाँ गैरआवासीय नेपालीको सङ्ख्या न्यून भए पनि एसिया क्षेत्रको सम्मेलनको आयोजना हुनु खुसीको कुरा भएको बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले नेपालको आर्थिक समृद्धिका लागि एनआएरएनले विदेशमा सिकेका सीप, ज्ञान र पूँजीको उपयोग गर्न आग्रह गरे ।

सम्मेलनमा सङ्घका अध्यक्ष कुल आचार्यले संविधानमै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपयोग गर्न पाउने भनेर उल्लेख गरिएको सन्दर्भमा ढिलै भए पनि संसद्ले नागरिकता विधेयक पारित गरेर आवासीय नेपालीलाई राज्यले सम्मान गरेकामा सरकारलाई धन्यवाद ब्यक्त गर्दै नागरिकता ऐनले एनआरएनहरूको नेपालमा रहेको सम्पत्तिको रक्षा हुन्छ र नेपालमा ढुक्क भएर लगानी गर्ने वातावरण बन्ने विश्वास व्यक्त गरे । उनले गैरआवासीय नेपालीले पनि नेपालीसरह लगानी गर्ने अवसर पाएमा साना–ठूला ठाउँमा लगानीको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै यसो भएमा नेपालमा लगानी बढ्ने र हाम्रो नेपालमा रहेको सम्पत्ति पलायन हुनबाट रोक्न यो कोशेढुङ्गा हुने बताए ।

अर्का अध्यक्ष रविना थापाले सङ्घको १०औँ महाधिवेशनपछि आयोजना हुन लागेको एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन महत्वपूर्ण हुने कार्यक्रमको नाम नै मिलाप राखिएकाले हाल एनआरएनएमा देखिएको विवाद उक्त सम्मेलनपछि अन्त्य हुने दाबी गरे । अर्का अध्यक्ष डा बद्री केसीले भाइचारा अभिवृद्धि तथा पारस्परिक सहयोगलाई बढावा दिने सोचका साथ मिलापको अवधारणाअनुरुप यो भेला आयोजना गरिएको उल्लेख गर्दै गैरआवासीय नेपालीको महिनाभरको कमाई विप्रेषणका रूपमा भित्रिएर मुलुकको अर्थतन्त्र धानिएकाले उनीहरूलाई मताधिकारको अवसरबाट पनि बञ्चित गर्न नहुने धारणा राखे ।

एनआरएनका पूर्वअध्यक्ष भवन भट्टले वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानीलगायतका कुरामा जोड्न आवश्यक रहेको बताए । उनले सङ्घभित्रको एकतालाई अझै रचनात्मक बनाउन आवश्यक रहेको छ भने ।

सो अवसरमा समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना, राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापा, राष्ट्रिय मुस्लिम आयोगका सदस्य मिर्जा अर्सद बेग, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख ओम शर्मा र व्यवसायी राजेन्द्र खेतानले समृद्ध राष्ट्रका लागि नेपाली प्रवासीहरूको भूमिकाका बारेमा प्रकाश पारेका थिए ।

‘मिलाप’ नाम दिइएको सो सम्मेलनमा महिला, युवालगायत सङ्घका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल हुने एसिया क्षेत्रीय संयोजक पारसमणि पोखरेलले बताए । सम्मेलनमा वक्ताहरूले थाइल्याण्ड, म्यानमार र सिङ्गापुरमा रहेका रैथानेले उठाउँदै आएको पिपल फर नेपाली ओरजिन (पिएनओ)को मान्यता पाउनुपर्ने माग गरेका थिए । सो अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

सम्मेलनका विभिन्न सत्रमा ५० भन्दा बढी वक्ता रहने सो गैरआवासीय नेपाली सङ्घका मुख्य मुद्दा नेपाली नागरिकताको निरन्तरता, मताधिकारको अधिकार, नेपालमा लगानी तथा महिला युवाका समस्या र समाधानको विषयमा सम्मेलन केन्द्रित हुने गैरआवासीय नेपाली सङ्घले जनाएको छ । सो सम्मेलनमा विभिन्न विषयगत विज्ञले आ–आफ्नो कार्यपत्रसमेत प्रस्तुत गर्ने सङ्घले जनाएको छ । सम्मेलन बैंकक घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न हुने छ ।