प्रदेश 1

खोटाङबाट एक सय ५८ खेलाडी छानिए

१४ भदौ, खोटाङ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खोटाङबाट एक सय ५८ खेलाडी छनोट भएका छन् । प्रदेशस्तरीय प्रतियोगितामा १४ खेलका लागि ती खेलाडी र व्यवस्थापन तथा अफिसियल ३० गरी एक सय ८८ जनाको सहभागिता रहने जिल्ला खेलकुद विकास समिति खोटाङका प्रमुख लीलाभक्त केसीले जानकारी दिए।

प्रमुख केसीका अनुसार भलिबलमा १८, एथ्लेटिक्समा २२, बुद्धिचालमा चार, तेक्वान्दोमा २२, सितोरियो कराँतेमा २९, टेबलटेनिसमा चार, फुटबलमा ३२, ब्याडमिन्टनमा सात, भारोत्तलनमा दुई, उसुमा १० खेलाडी छनोट भएका छन् । यस्तै बक्सिङमा तीन, पौडीमा दुई, शारीरिक सुगठनमा एक र सफ्ट टेनिसमा दुई खेलाडीले प्रदेशस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने प्रमुख केसीले बताए ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा दश विधाका खेलाडीले सहभागी जनाएको खोटाङमा यो वर्ष सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा चार खेल थपिएको छ । शारीकि सुगठन, पौडी, भारोत्तलन र सफ्ट टेनिस थपिएको हो ।

यो वर्ष जिल्लाबाट नयाँ खेलसँगै पहिले सहभागी गराइएको खेलमा पनि खेलाडीको सङ्ख्या बढाइएको छ । अघिल्लो वर्ष एथलेटिक्समा आठ जनाको सहभागिता जिल्लाबाट भएकोमा यो वर्ष २२ खेलाडीले सहभागिता जनाउनेछन् ।

जिल्लाबाट छनोट भएका खेलाडीहरुले अब प्रदेशस्तरीय छनोट प्रतियोगितामा भाग लिनेछन् । प्रदेशस्तरीय छनोट प्रतियोगिता कुन–कुन जिल्लामा हुने भन्ने अहिलेसम्म टुङ्गो लागिसकेको छैन ।

यद्यपि, आगामी भदौ–१६ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने प्रदेशस्तरीय प्रतियोगिता बिराटनगर, धरान, इटहरी लगायत ठाउँहरुमा सञ्चालन हुने जनाइएको छ । सितोरियो कराँते खेलको प्रदेशस्तरीय प्रतियोगिता भने खोटाङमै हुने जनाइएको छ ।

दिक्तेलस्थित खोटाङ बहुउद्देश्यी कभर्डहलमा सञ्चालन हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि जिल्लामा तयारी तीव्र पारिएको सितोरियो कराँते सङ्घ खोटाङले जनाएको छ । सितोरियो कराँते खेलको प्रदेशस्तरीय प्रतियोगिता खोटाङमा सञ्चालन हुने भएपछि जिल्लाबासी उत्साहित भएका छन् ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ गतेदेखि कातिक ३ गतेसम्म पोखरामा सञ्चालन हुने आयोजकले जनाएको छ । खेलाडी छनोटका लागि प्रदेश सरकारले उपलब्ध गराएको रकम कम हुँदा जिल्लामा व्यवस्थापन गर्न समस्या भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।