प्रदेश 1

झोलुङ्गे पुल बन्दा स्थानीय उत्साहित

१४ भाद्र, विराटनगर । मोरङको जहादा गाउँपालिका ३ मा रहेको जुडीखोलामा झोलुङ्गे पुल निर्माण हुँदा स्थानीय उत्साहित भएका छन् ।

प्रदेश सरकारको सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको सहयोगमा  जुडीखोलामा झोलुङ्गे पुल निर्माण हुँदा स्थानीय उत्साहित भएका हुन ।  जहदा गाउँपालिकाको वडा नम्बर ३ चारैतिरवाट जुडीखोलाले घेरिएकाले पुल नहुँदा आवतजावत गर्न स्थानीयलाई समस्या हुने गरेको थियो  । वडा अध्यक्ष अनिलकुमार ठाकुरले वर्षायाममा नजिकैको टोलमा पुग्न घण्टौ हिड्नुपर्ने समस्या अन्त भएको बताए । 

“खोला तर्न नसक्नेले आधा किलोमिटर बाटोको दुरी कायम गर्न करिब पाँच किलोमिटर धुमेर पुग्नु पर्ने बाध्यता थियो”, वडा अध्यक्ष ठाकुरले भने, “झोलुङ्गे पुलले सहज बनायो  । ”

साँघुरो बाटो र खोलामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा रहेका स्थानीयले झोलुङ्गे पुल बनेसँगै सहजआवतजावत गर्न बनेको छ ।  वडाकै ववनटोली र जयरामपुरको बीचमा पर्ने जुडीखोलामा झोलुङ्गे पुल निर्माण हुँदा उत्साहित भएको स्थानीय ७३ वर्षिय सरुपलाल मलाहले बताए  । झोलुङ्गे पुल बनेपछि आधा दर्जन वस्तीका करिब पाँचहजार व्यक्तिलाई आवतजावत गर्न सहज भएको उहाको भनाइ थियो । स्थानीय नारायण कामतले खोला तर्नुपर्ने समस्याबाट  मुक्ति पाएको बताए ।  

कूल २५ मिटर झोलुङ्गे पुल ३६ लाख लागतमा निर्माण भएको अध्यक्ष ठाकुरले जानकारी दिए । निर्माण सम्पन्न भएपछि दुवै बस्तीसँगै भारत विहारको सुनरीमण्ड सहित सिमावर्ती क्षेत्र डुमरिया, पोखरिया र लक्ष्मीनीयालगायतका वासिन्दालाई आवतजावत गर्न सहजभएको छ ।