प्रदेश 1

इटहरीमा ट्राफिक व्यवस्थापन गरिँदै

१४ भदौ, इटहरी । सुनसरीको इटहरीको मुख्य चोक आसपासको क्षेत्रलाई सवारी जाम न्यूनीकरण गर्न ट्राफिक व्यवस्थापनको काम सुरु गरिएको छ । बजार क्षेत्रमा अव्यवस्थितरूपमा सवारीसाधन पार्किङका कारण नगर क्षेत्र अस्तव्यस्त बनेको भन्दै इटहरी उपमहानगरपालिकाले चोकको तीन सय मिटरको सडक क्षेत्रमा पार्किङ नगर्न आग्रह गरेको हो ।

नगर क्षेत्रका मुख्य सडकबाट बजारका सडकमा अव्यवस्थित सवारीसाधन पार्किङ गर्ने प्रचलनका कारण नगरक्षेत्र नै कुरुप देखिन थालेको थियो । सो कुरालाई मध्यनजर गर्दै इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले ट्राफिक व्यवस्थापन गर्न भन्दै तीन सय मिटरको सडक क्षेत्रमा पार्किङ निषेध गर्ने निर्णय गरेको हो ।

सम्बन्धित वडाका वडाध्यक्ष, नागरिक समाज, ट्राफिक प्रहरी, सशस्त्र प्रहरीलगायत यातायात व्यवसायीसँगको छलफलपछि इटहरीको मुख्य चोक क्षेत्रमा पार्किङ निषेध गरिएको छ । छ लेन बन्दै गरेको सडक रानी–इटहरीको विराटनगर खण्डमा जताततै मालवाहक ट्रक, लरी, बस, जीप, कार, अटोरिक्सा, मोटरसाइकल लगायतका सवारीसाधन पार्किङ हुँदै आएको छ । आज बिहानदेखि लागू हुने उपमहानगरपालिकाले सडक क्षेत्रमा निर्माण सामग्री तथा व्यवसायिक सामान राख्न बन्देज गरेको हो ।

सात दिनको समयसीमा निर्धारण गरी सूचना प्रसारण गरिएको नगरप्रमुख पौडेलले बताए । ट्राफिक व्यवस्थापनको चुनौती र समाधानसहित अध्ययन गर्न वडा नं ६ का वडाध्यक्ष दिवस पोखरेलको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिले तयार पारेको प्रतिवेदनका आधारमा उपमहानगरपालिकाले थप कदम अगाडि बढाउने भएको हो ।