पर्यटन/संस्कृति

सूर्यविनायक खटजात्रा मनाइँदै

१५ भाद्र, भादगाउँ । गणेश चतुर्थीका अवसरमा भक्तपुरको सूर्यविनायकको खटजात्रा धुमधामले मनाइँदैछ । स्थानीय सूर्यविनायक क्षेत्र प्रबन्ध समिति, सूर्यविनायक युवा क्लब, सूर्यविनायक नगरपालिकाको वडा नं ६ र ८, ढल्चा भजन, दाफा खलः तथा गुथियारका सक्रियतामा यो जात्रा गरिएको हो ।

यो जात्रा करिब पाँच दशकपछि गत वर्षदेखि पुनःसञ्चालनमा आएको थियो । अर्थाभावका कारण लोप हुने अवस्थामा पुगेको यो जात्रालाई पुनर्जीवित गर्न गत वर्ष सूर्यविनायक–६ र ८ ले रु दुई–दुई लाख बजेट व्यवस्था गरेको थियो । सोहीअनुसार स्थानीय गुठियार र विभिन्न समिति, भजन खलःको सक्रियतामा जात्रा पुनःसञ्चालनमा भएको हो । जात्राका लागि यस वर्ष पनि दुवै वडाले रु तीन–तीन लाख विनियोजन गरेको छ ।

सूर्यविनायक मन्दिर सूनपा–८ र ६ को सिमानामा रहेको छ । जात्रा दुईवटै वडाका केही भागको परिक्रमा गर्ने परम्परा रहेको छ भने जात्रा सञ्चालन र मन्दिरको संरक्षण गर्ने गुठी पनि दुईवटै वडाको क्षेत्रमा रहेको छ । त्यसैले पुरातात्विक, ऐतिहासिक र धार्मिक महत्वको सो मन्दिरको जात्रा व्यवस्थापनका लागि ती दुईवटै वडाले बजेट विनियोजन गरेको हो ।

गणेश चतुर्थीको दिनलाई भगवान् सूर्यविनायकको जन्मोत्सवका रूपमा समेत लिइन्छ । जात्राका क्रममा सूर्यविनायकको मूल मूर्तिलाई खट्मा राखी एकापसमा सिन्दुर दलेर विभिन्न टोलको परिक्रमा गराइने परम्परा रहेको छ ।

सूर्यविनायक मन्दिरको प्राङ्गणबाट सुरु भएको जात्राका क्रममा खटलाई स्थानीय तीनधारा, पिपलबोट, गुन्चाटोल, राजथला टोल, सूर्यविनायक चोक, चालिसे गाउँलगायतका टोलमा धिमे, भुस्या, धाँ बाजाको साथमा परिक्रमा गराइन्छ । जात्रामा स्थानीय ढल्चा भजन, दाफा खलःका बाँसुरी बाजा, धिमेबाजा तथा गुठियारको सहभागिता रहन्छ ।

गणेश चतुर्थीका दिन परापूर्वकालदेखि मनाउँदै आएको सूर्यविनायक गणेश (इनरे गणेद्यो) को लोपोन्मुख जात्रालाई बर्सेनि निरन्तरता दिइने सूर्यविनायक युवा क्लबका अध्यक्ष मनोज गिरीले बताए ।

काठमाडौँ उपत्यकाका चार प्रमुख विनायकमध्येको एक सूर्यविनायकलाई स्थानीयले इनरे गणेद्यो भन्दछन् । यो गणेशको मुख्य मूर्तिलाई वर्षको दुईपटक मात्र सार्वजनिक गरी पूजा गर्ने प्रचलन रहेको जात्रा व्यवस्थापन समिति संयोजक विष्णुप्रसाद राजथलाले बताए । उनका अनुसार गणेश चतुर्थीका दिन जात्राका लागि सार्वजनिक गरिने मूर्तिलाई बिस्काः (बिस्केट) जात्राको अवसरमा वैशाख ३ गते भक्तपुर नगरको तालक्वःमा लैजान र त्यहाँ वैशाख ४ गते हुने द्यो स्वंगः (सगुन) जात्राका क्रममा पूजा थाप्न सार्वजनिक गर्ने परम्परा रहेको छ ।