प्रदेश 2

पारम्पारीक कुलो मर्मत गरी साढे तीन हजार बिघामा सिँचाइ

१५ भदौ, धनुषा । यहाँका केही गाउँमा वर्षौ पुराना कुलो जीर्णाद्धार गरिएपछि किसानको सिँचाइको समस्या समाधान भएको छ । वर्षौँ पुरानो कुलो जीर्णोद्धार गरेपछि अहिले किसानले सिँचाइको समस्या भोग्नुपरेको छैन । जनकपुरधाम उपमहानगरपालिकाको सक्रियतामा ३० वर्षपछि बिग्घी नदीमा बाँध बाँधेर पारम्पारिक कुलोको जीर्णाद्धार गरिएपछि अहिले केही गाउँमा सिँचाइको समस्या हटेको छ ।

पर्याप्त वर्षा नहुँदा सबैले खेतमा रोपाइ गर्न नसकेका बेला कुलो जीर्णाद्धारपछि खेतमा पुगेको सिँचाइले जनकपुरधाम–२१ कुर्था, लक्ष्मीनिया गाउँपालिका–२ का दोहर र सिनुरजोडा तथा महोत्तरीको लोहारपट्टी नगरपालिकाका तपनपुर, महदैया र बसपिटीलगायत गाउँका खेतमा लगाइएको धानमा सिँचाइ पुगेको छ ।

जनकपुरधाम–२१ कुर्थाका किसान चित्रनारायण साहले भने, “दोहरदेखि कुर्थासम्म र दोहरभन्दा तलदेखि महोत्तरीको तपनपुर– महदैयासम्म कुलो खनिएको छ, पारम्पारिक कुलोको जीर्णाद्धार गरेर खनिएको कुलोबाट यहाँ खेत खेतमा पानी पुगेको छ ।” आकाशे पानीको भरमा खेती गर्ने यहाँका किसानलाई यसवर्ष समयमा मलखाद नपाउनुका साथै लामो समयसम्म पानी नपर्दा खडेरीको समस्या बल्झिने भएपछि उपमहानगर र किसानको सक्रियतामा सिँचाइ सम्भव भएको स्थानीयले बताए । 

कुलो जीर्णाद्धारपछि अहिले आठ किलोमिटर लामो कुलोबाट दोहरको एक सय बिघा, सिनुरजोडाको पाँच सय, तपनपुरको पाँच सय, महदैयाको पाँच सय, कुर्थाको एक हजार तीन सय र बिसपिटीको पाँच सय बिघा गरी कुल तीन हजार छ सय बिघामा सिँचाइ सुविधा उपलब्ध भएको छ ।

जनकपुरधाम–२१ का वडाध्यक्ष राजनारायण साहले आफू सानो हुँदा गाउँमा तीन बाली फलेको बाबु बाजेले सुनाउने गरेको बताउँदै भने, “३० वर्षयता बाँध बाँधिएको थिएन, चुनाव ताका हामीले बाँध र कुलोलाई चुनावी नारा नै बनायौँ, मतदाता पत्याउनुभयो अनि नगरप्रमुखले विश्वास गरेपछि यो सम्भव भएको हो ।” 

वडाध्यक्ष साहका अनुसार बाँध निर्माण र कुलो जीर्णोद्धारमा हालसम्म रु १८ लाख खर्च भएको छ । मुख्य खर्च डोजरबाट माटो खन्ने र पुर्ने काममा भएको हो । स्थानीयले पनि श्रमदान गरेका छन् ।

कमला सिँचाइ आयोजनाका पूर्व डिभिजनल इञ्जिनीयर रत्नेश्वरलाल कर्णका अनुसार सुक्खामा पारम्पारिक पद्धतिबाट मधेसका अधिकांश खेतीयोग्य जग्गामा सिँचाइ गर्न सकिन्छ । अधिकांश गाउँमा पारम्पारिक कुलोका अवशेष पनि छन् । कर्णले सिँचाइको स्थायी संरचना निर्माण गर्दा पनि पुराना कुलोलाई नहरका रूपमा प्रयोग गर्न सके अझ राम्रो हुने सुझाव दिए ।