साहित्य

अन्तर्राष्ट्रिय बालकला प्रदर्शनी सुरु

९ असोज, काठमाण्डौ । काठमाडौँको ठमेलस्थित मिथिला येँ आर्ट ग्यालरीमा अन्तर्राष्ट्रिय बाल कला प्रदर्शनी सुरु भएको छ ।

बङ्गलादेशको आर्टशाला कला केन्द्र र नेपालको जिपी कोइराला फाउन्डेसन आर्ट एण्ड कल्चर विभागको आयोजनामा शनिबारदेखि पाँच दिने अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको हो ।

प्रदर्शनीमा बङ्गलादेशका ५५ बाल कलाकार तथा नेपालका पाँच कलाकारले कोरेका कला राखिएका छन् । प्रदर्शनीको शुभारम्भ गर्दै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ रमेश खनालले विश्वका सबै कलाको आ–आफ्नो विशेषता रहेको उल्लेख गर्दै यस्ता कला प्रदर्शनीले अन्तर्राष्ट्रियस्तरमा नेपाली बाल कलालाई जोडेको बताए।

उनले नेपाली कलाकारबाट कोरिएका कला बिक्रीवितरण नहुँदा कलाकारको मेहनत खेर गएको उल्लेख गरे । नेपालमा निर्माण भएका सरकारी तथा निजी भवनमा नेपाली कलालाई प्रयोग गरेमात्र कलाकारको मेहनतको कदर हुने उनको भनाइ थियो ।

हो वीगञ्ज चारुखोला एकेडेमीका निर्देशक एवं आर्टशालाका सञ्चालक आशिष अचार्जीले आर्टशालाले पहिलो पटक नेपालमा आएर अन्तर्राष्ट्रियस्तरको कला प्रदर्शन गरेको जानकारी दिए । उनले कला प्रदर्शनीले नेपाल र बङ्गलादेशको सम्बन्ध झन मजबुद बनाएको बताए।

जिपी कोइराला फाउन्डेशन, कला तथा संस्कृति विभागका प्रमुख श्यामसुन्दर यादवले फाउन्डेसनले संसारभरका कलाकारलाई जोड्ने काम गर्दै आएको बताए । विगत १७ वर्षदेखि सञ्चालनमा रहेको मिथिला येँ आर्ट ग्यालरीमा हालसम्म तीन सयभन्दा बढी स्वदेशी तथा विदेशी कला प्रदर्शन गरिसकिएको उनको भनाइ छ ।