साहित्य

‘नेपाली महाकाव्यको इतिहास र विश्लेषण’ प्रकाशित

१० असोज, काठमाण्डौ । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य पद्य र काव्य विभागको संयोजनमा महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेको लेखनीमा ‘नेपाली महाकाव्यको इतिहास र विश्लेषण’ कृति प्रकाशन भएको छ ।

कृतिमा दुई सय ३२ जना कविका प्रकाशित र केही अप्रकाशित चार सय ३२ महाकाव्यात्मक कृतिको अध्ययन गरिएको छ । कृतिका अनुसन्धाता चन्द्रप्रसाद न्यौपाने रहेका छन् ।

प्रस्तुत कृतिमा पछिल्लो अध्ययनअनुसार पहिलो मानिएको रमेश मल्लद्वारा लिखित ‘मदन दीपिका’ (वि.सं १८२२) देखि विसं २०७८ सम्म लेखिएका महाकाव्यको विश्लेषण गरिएको  छ । यस क्रममा महाकाव्यको सिद्धान्त र नेपाली महाकाव्यको इतिहासका साथै नेपाली कवितामा शास्त्रीय छन्दप्रयोगको परम्परा र नेपाली महाकाव्यसम्बन्धी अन्य केही महत्वपूर्ण तथ्यसमेत दिइएको छ । अध्ययनका क्रममा कविको परिचय र त्यसपछि महाकाव्यको सङ्क्षिप्त विश्लेषण गरिएको छ ।

विश्लेषणका क्रममा विषयवस्तुका साथै संरचनागत पक्ष–सर्गगत, प्रकरणगत र छन्दगत विवरण दिई कृतिलाई सूचनामूलक र उपयोगी बनाइएको छ । नौ सय ३६ पृष्ठको कृतिको प्रकाशनपछि नेपाली महाकाव्यका सम्बन्धमा एउटा महत्वपूर्ण सामग्री उपलब्ध भएकाले यसले महाकाव्यका विविध विषयमा जानकारी लिन चाहनेलाई लाभान्वित तुल्याउने छ ।