खेलकुद

अन्तर्राष्ट्रिय बेलबारी बुद्ध एयर फुटबल प्रतियोगिता विजेतालाई आठ लाख पुरस्कार

२ कात्तिक, मोरङ । मोरङको बेलबारीमा रहेको डाँगीहाट युथ क्लबले स्थानीयस्तरमा खेलकुद र खेलाडीलाई प्रवद्र्धन गर्न तथा लागुपदार्थ दुव्र्यसनविरुद्ध जनचेतना जागृत गराउन अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही कात्तिक १५ गतेदेखि २३ गतेसम्म ‘पाँचौँ बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय फुटबल’ प्रतियोगिता लक्ष्मी माविको खेल मैदान बेलबारीमा गर्ने जानकारी दिइयो । प्रतियोगितामा नेपाल र भारतका गरी १०  टिमको सहभागिता हुने क्लबका अध्यक्ष विक्रम राईले बताए ।

सशस्त्र प्रहरी बल, युनाइटेड ब्रदर्स कालिम्पोङ भारत, एभिनियर फुटबल क्लब क्यामरुन (अफ्रिका), आमुक्त परिवार पश्चिम बङ्गाल भारत, रोलिङ एफसी झापा, पेम्बा युथ क्लब विराटनगर, डाँगीहाट युथ क्लब मोरङ बेलबारी, सहारा क्लब पोखरा, सहलेस युथ क्लब सिरहा र राजारानी फुटबल क्लब धनकुटा टिमको प्रतियोगितामा सहभागिता रहने छ ।

प्रतियोगितामा विजेता हुने टिमलाई रु आठ लाख एक हजार, उपविजेता टिमलाई रु चार लाख एक हजारका साथै सर्वोत्कृष्ट खेलाडीलाई रु २५ हजार, उत्कृष्ट गोलकिपरलाई रु १५ हजार र विभिन्न विधामा उत्कृष्ट हुने खेलाडी र प्रशिक्षकलाई पुरस्कारको व्यवस्था गरिएको क्लबका प्रवक्ता नरेन्द्र बस्नेतले जानकारी दिए ।

प्रतिगिताबाट रु ६१ लाख ९० हजार आम्दानी तथा रु ५२ लाख ६१ खर्च हुने अनुमान आयोजकले गरेको छ ।