प्रवास

इरानका राष्ट्रपतिसँग ओएएनए सदस्य मुलुकका प्रतिनिधिको भेट

८ कात्तिक, तेहरान(इरान) । इरानको राजधानी तेहरानमा जारी एसिया–प्रशान्त क्षेत्रका समाचार समितिहरूको सङ्गठन(ओएएनए)को १८औँ महासभामा सहभागी सदस्य मुलुकका प्रतिनिधिहरूले इरानका राष्ट्रपति इब्राहिम रइसीसँग भेटवार्ता गरेका छन् ।

राष्ट्रपति कार्यालयमा भएको सो भेटमा उनले अभिव्यक्ति स्वतन्त्रता, सत्य खोज्ने र सम्प्रेषण गर्ने सन्दर्भमा सञ्चार माध्यमको भूमिका झनै बढेको बताए । प्रत्येक समयमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो । राष्ट्रपति रइसीले व्यक्ति, समाज र देशको पहिचान कायम गर्ने सन्दर्भमा सञ्चारमाध्यम निकै सशक्त रहेको चर्चा गर्दै केही सञ्चार माध्यमले भने त्यस्तो दायित्व निर्वाह नगरेको टिप्पणी गरे ।

आफूहरू सधैँ शान्तिको पक्षमा रहेको भन्दै उनले विश्वमा शान्ति स्थापनाका लागि निरन्तर प्रयत्नशील रहेको बताए । राष्ट्रपति रइसीले ओएएनएमा आबद्ध देशका समाचार एजेन्सीहरूले आपसमा सहकार्य र समन्वयको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । उनले भने, “तपाईंहरूको यो उपस्थितिले विश्वको आधाभन्दा बढी जनसङ्ख्याको प्रतिनिधित्व गर्दछ । हामीले मिलेर काम गर्न सके महत्वपूर्ण उपलब्धि प्राप्त गर्न सक्छौँ ।”

राष्ट्रपति रइसीले महासभामा सहभागीलाई स्वागत गरेका थिए । यसअघि सोमबार राति इरानका विदेशमन्त्री हुसैन अमिर–अब्दुल्लाहइनले महासभामा सहभागीको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए । सो अवसरमा उनले एसिया–प्रशान्त क्षेत्रका सञ्चारमाध्यमबीचको सहकार्यमा जोड दिएका थिए ।

महासभामा नेपालका तर्फबाट राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सहभागिता जनाएका छन् । यही अक्टोबर २३ देखि २६ सम्म चल्ने महासभामा एसिया–प्रशान्त क्षेत्रका ३५ सदस्य मुलुकका समाचार समितिका निर्देशक, व्यवस्थापक एवं सम्पादक गरी ६० जनाको सहभागिता छ ।

महासभामा ‘सञ्चार माध्यममा महामारीले ल्याएको परिवर्तन’ र ‘महामारीपछि सञ्चार माध्यममा सहकार्यको प्रवद्र्धन’ विषयमा छलफल भएको थियो । महासभाको उद्घाटन कार्यक्रममा इरानको संस्कृति मन्त्री महम्मद मेहदी स्माइलीले एसिया–प्रशान्त क्षेत्रको पत्रकारिताको प्रवद्र्धनमा जोड दिँदै समाचार एजेन्सीहरूबीच सहयोग र सहकार्यको आवश्यकता औंल्याएका थिए ।