राजनीति

राप्रपा नेपाल केन्द्रीय सचिवालय बैठकका यस्ता भए तीन महत्वपूर्ण निणर्य

१३ मंसिर, काठमाडौं । राप्रपा नेपालले आज बैठक डाकेको छ । आजको राप्रपा नेपालको सचिवालयको बैठकले बिभिन्न तीन निर्णयहरु गरेको छ ।
प्रदेश सभा तथा प्रतिनिधि सभा बैठक तथा आगामी राजनीतिका बिषयमा पार्टीले महत्वपूर्ण निर्णय गरेको हो ।
पार्टीले बैठकपछि निकालेको बिज्ञप्तीः

१) २०७९ मंसिर ४ गते भएको आमचुनावमा राप्रपा नेपालले निराशाजनक परिणाम भोग्नुपरेको छ । परिणाम अपेक्षाकृत अनुकुल नभएता पनि जनताको अभिमतलाई सम्मान गर्दै प्रजातान्त्रिक मान्यता अनुसार राप्रपा नेपाल पराजयलाई स्वीकार गर्दछ ।
राप्रपा नेपालको पक्षमा मतदान गर्नुहुने सम्पूर्ण दिदीबहिनी दाजुभाईहरु सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दै चुनावमा रातदिन नभनी ईमान्दारीपुर्वक खट्नु हुने पार्टीका सबै तहका सदस्यरकार्यकर्ताहरुमा राप्रपा नेपाल केन्द्रीय सचिवालय बैठक हार्दिक आभार प्रकट गर्दछ ।
पार्टी पुनर्जागृत भएको वर्ष दिन पनि नपुग्दै चुनावमा होमिनुपरेको कारण चुनाव जित्न सक्ने खालको संगठन निर्माण हुन नसकेको, संस्थागत रुपमा प्रभावकारी चुनावी अभियान संचालन हुन नसकेको तथा न्युनतम साधनश्रोतको समेत व्यवस्था हुन नसकेको तितो यथार्थलाई स्वीकार तथा आत्मालोचना गर्दै कमिकमजोरीबाट पाठ सिकेर आगामी दिनमा थप सशक्त ढंगबाट अघि बढ्ने राप्रपा नेपाल प्रतिवद्धता व्यक्त गर्दछ ।
यसपटकको निर्वाचन परिणामबाट राष्ट्रवादी विचारधारा र सर्वधर्म समभाव सहितको हिन्दुराष्ट्रको एजेण्डा कमजोर भएकोप्रति बैठक चिन्ता प्रकट गर्दछ ।
चुनावमा पराजयको वावजुद राप्रपा नेपालले अवलम्बन गरेको सम्बर्द्धनवादको विचार र दर्शनको औचित्य र महत्व यद्यपि कायम रहेको छ । देशमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता अझै टड्कारो रहेको छ । यो धरातलीय यथार्थलाई आत्मसात गर्दै निर्वाचन परिणामबाट कत्ति पनि विचलित र निराश नभई पार्टी संगठनलाई सुदृढ तुल्याउने र राप्रपा नेपाललाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने दिशामा क्रियाशील रहन सबै तहका साथीहरुमा केन्द्रीय सचिवालय बैठक आह्वान गर्दछ ।
२. निर्वाचनमा देखिएका कमजोरी र भविष्यमा अवलम्बन गर्नुपर्ने नीति र कार्यका सम्वन्धमा अध्ययन अनुसन्धान गरी सुझाव सहितको प्रतिवेदन पेश गर्न उपाध्यक्ष डा। बिष्णु भण्डारीको संयोजकत्वमा बसन्त मानसिंह अधिकारी, सुरेश आचार्य, नरप्रसाद थापा, माधव खत्री, हिक्मत जंग भण्डारी, यवती कार्की, उज्वल पोखरेल र राजाराम बर्तौला ’चुनेली’ रहनुभएको समितिको गठन गरिएको छ ।
३. राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक पौष महिनाको तेस्रो हप्तामा गरिने छ