सूचना प्रविधि

जनता, नीति निर्माण र विकासका विषयलाई प्राथमिकता दिनुपर्छः सचिव अर्याल

२६ मंसिर, काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) ले संसदमा रिपोर्टिङ गर्ने समाचारदाताको क्षमता विकास गर्ने उद्देश्यले आज यहाँ ‘संसदीय समाचार सङ्कलन प्रशिक्षण’ कार्यक्रमको आयोजना गरेको छ । सो प्रशिक्षणको उद्घाटन गर्दै सूचना तथा प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले राससले आफ्नो सेवासागै प्राविधिक पक्षलाई पनि अझै बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिए । उनले जनताको दैनिकी, नीति निर्माण र विकाससँग जोडिएका विषयभन्दा पनि कहिलेकाँही सामान्य विषयहरु बढी मात्रामा आउने गरेको टिप्पणी गरे। सचिव अर्यालले भने, “संसदमा जनप्रतिनिधिले बोलेका विषयलाई जस्ताको तस्तै दिनुपर्छ, ती विषयलाई धोरै विश्लेषणसहित आम पाठकलाई बुझाउन सक्नुपर्छ, समाचार एक पक्षीय हुनु हुँदैन ।”

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले संसदीय रिपोर्टिङ लोकतन्त्रसँग जोडिएको हुँदा संसदमा जाने समाचारदाताले कुनै पनि विचार वा आस्थाभन्दा टाढा रहेर समाचार सम्प्रेषण गर्नुपर्ने बताए। राससका महाप्रबन्धक सिद्धराज राईले कर्मचारीको क्षमता विकास गर्ने उद्देश्यले राससले श्रव्यदृश्य, निर्वाचन र संसदीय मामिला लगायतका समसामयिक विषयमा प्रशिक्षण दिँदै आएको जानकारी दिए । उनले राससको समाचारको गुणस्तर र प्रशासनिक सुधार गर्दै राससले २४ घण्टे सेवा सञ्चालन गर्ने तयारी गरिरहेको बताउनुभयो । राससले निर्वाचनको समयमा परिक्षणको रुपमा एक हप्तासम्म २४ घण्टे सेवा सञ्चालन गरेको थियो । राससले गत साउन १ गतेदखि औपचारिकरुपमा श्रव्यदृश्य (भिडियो) सेवा सञ्चालनमा ल्याएको छ । राससको समाचार सामग्रीमा विविधिकरण ल्याउने उद्देश्यले परीक्षण प्रसारणका रुपमा श्रव्यदृश्य सेवा आरम्भ गरिएको हो ।

एक दिवसीय प्रशिक्षणमा इकागज अनलाईन न्यूज पोर्टलका प्रधान सम्पादक हरिबहादुर थापाले ‘संसदीय समाचार सङ्कलनमा सञ्चारकर्मीको भूमिका र चुनौती’, संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले ‘संसद सञ्चालन प्रक्रिया र प्रेस’ र राससका प्रधानसम्पादक एकराज पाठकले ‘संसदीय समाचार सङ्कलनःसम्पादन शाखाका अपेक्षा’ विषयमा प्रशिक्षण दिन्ेछन् ।
त्यसैगरी राससका प्रमुख समाचारदाता उत्तम सिल्वालले ‘संसदीय समाचार सङ्कलन’ र उपप्रमुख समाचारदाता नारायण न्यौपानेले ‘संसदीय समाचार सङ्कलनः अभ्यास र अनुभव’ विषयमा प्रशिक्षण दिनेछन् ।