२६ मंसिर, बागलुङ । भाषा, कला, संस्कृति र परम्परा पहिचान हुन् । पहिचानसँग जोडिएका पुराना संस्कार संस्कृति आधुनिक प्रविधिको विकासले संकटमा छन् । जसका कारण मौलिक पहिचाननै गुम्ने खतरा बढाएको छ । एक दशक अगाडिसम्म देखिने मौलिक संस्कृति अहिले निकै कम भेटिन्छन् । सूचना, प्रविधिको विकासले हरेक क्षेत्र डिजिटलमय बनेको छ । सहरदेखि गाउँसम्मै प्रविधिको भरपुर प्रयोग भएको छ ।
प्रविधिको प्रयोगले जीवन र दैनिकीलाई सहज र सरल त बनाएको छ नै, त्यससँगै यसले हाम्रा कैयन मौलिकता र पृथक विशेषता बोकेका परम्परागत कला, संस्कृति, व्यवसायहरुलाई धरापमा पार्ने खतरा पनि उत्तिकै छ । अहिले हरेक व्यक्तिले आधुनिक प्रविधिको प्रयोग गरेर दैनिकी, कामकाज, व्यापार व्यवसायलाई सहज बनाउने गरेका छन् । तर, बागलुङ बजारमै एक दुर्लभ पात्र छन्, जसले आधुनिक प्रविधि, विकासलाई नपछ्याएरै तीन दशक अघिदेखि आफ्नै मौलिक कलासहितको व्यवसायलाई नै निरन्तरता दिएर फरक पहिचान कायम गरेका छन् ।
ती पात्र हुन् मछिन्द्र प्रसाद शाक्य । लेखन कलाकारितामा उनको पृथक रुपमा स्थापित परिचय चाहीँ ‘रन्तल आर्ट’ । शाक्यले बागलुङ बजारमा ३१ वर्षदेखि चित्र कोर्ने ब्यानर, बोर्ड लेखेरै जीवनयापन गरिरहेका छन् । सानैदेखि चित्र कोर्ने, पेन्टिङ गर्ने कार्यमा रुचि राख्नु हुने शाक्यले अन्ततः कलालाई आफ्नो व्यवसायको रुपमा अघि बढाए । बाबा पदमप्रसाद शाक्यबाट चित्र कोर्न सिकेका शाक्यले अहिलेसम्म अनगिन्ती लेखन र तस्बिरहरु कोरिसके, त्यसको कुनै लेखाजोखा छैन ।
शाक्यले २०४५ सालमा शिक्षण पेसा पनि अँगाले । शिक्षण पेसाले पनि उनलाई सन्तुष्टि मिलेन । बागलुङको मालिका माविमा दुई वर्ष शिक्षण पेसा गरेपछि उनी काठमाडौँ छिरे । विसं २०४६ मा बिए पास गरेपछि माथिल्लो तहको पढाइका लागि २०४७ साल तिर राजधानी गएका शाक्यले त्यहाँ विभिन्न आरोह अवरोह र चुनौतीको सामना गर्नुप¥यो । राजधानीमा पढ्दै बाँच्ने क्रममा आर्थिक अभावका कारण शाक्य एक निर्यात कम्पनीमा काम सुरु गरे ।
त्यस समयमा पनि आफूले निकै समस्या भोग्नु परेको अनुभव शाक्यले सुनाउछन् । त्यस बखत ठेलागाडामा सामान ओसारपसार समेत गरेको उनको भनाइ छ । त्यसको केही वर्षपछि बागलुङ फर्किएरै लेखन कला व्यवसाय आरम्भ गरेको शाक्यले बताए । “पढ्नका लागि ४७ साल तिर म काठमाडौँ गए, काठमाडौँ धेरै आरोहअवरोहहरु खेप्नु पार गरेँ, ठेलागाडामा सामान समेत ओसारेँ” शाक्यले भने “त्यसपछि म बागलुङ फर्किएर लेखनसम्बन्धी काम गर्न थालेँ ।”
विसं २०४९ देखि व्यावसायिक रुपमा चित्र कोर्न थालेका शाक्यले सुरुमा तत्कालीन राजा स्वर्गीय महेन्द्र शाहको तस्बिर कोरेका थिए । त्यससँगै उनले विभिन्न देवीदेवता र प्रकृतिको तस्बिर कोरे । शाक्य अहिले उमेरले ५६ वर्ष हुनुभयो तर उनको लेखन र चित्रकला प्रतिको भोक, प्यासन, लगाव, समर्पण निकै उत्साहप्रद छ ।
चित्र कोर्ने, ब्यानर, साइनबोर्ड लेख्नेलगायतका कलाबाटै सिङ्गो परिवारको जीविका समेत चलाउदै आएको छन् । सुरुमा टिनको पातामा चित्र गर्ने गर्नुभएका शाक्यले पछिपछि कपडा लगायत विभिन्न वस्तुहरुमा पेन्टिङ गर्न थाले । ब्यानर र साइनबोर्ड लेख्न आफ्नो साथीबाट सिकेका शाक्यले चित्रहरु भने आफैँ कोर्न सके ।
अहिले पनि चित्र कोर्ने, ब्यानर र साइनबोर्ड लेख्न र वाल पेन्टिङको काम दैनिकजसो गर्दै आएका छन् । विसं २०४६ मा स्नातक पास गरेका शाक्यले अरु जागिर पनि गर्न सक्ने प्रशस्त सुविधा, अवसर र क्षमता थियो । तर, जीवनमा कलाप्रतिको आशक्तिले त्यसबाट बाहिर जाने र सोच्ने कुरा शाक्यका लागि गौण बन्यो ।
काठमाडौँबाट गाउँ फर्किएपछि शाक्यले २०४९ सालमा बागलुङमा ‘रन्तल आर्ट’ खोले । त्यसबेलादेखि सुरु भएको शाक्यको व्यावसायिक कला व्यवसाय अहिले पनि उत्तिकै उर्जा र उत्साहका साथ निरन्तर सञ्चालनमा छ । नौ सय रुपैयाँबाट व्यवसाय सुरु गरेका शाक्य लेखन कला व्यवसायबाटै सुविधा सम्पन्न घरसहितको सम्पत्ति जोड्न सफल हुन् । आफ्नै कलामा रमाउने शाक्यलाई घर्किदो उमेरले केही फरक नै पारेको छैन ।
“सुरुमा बुबाले नौ सयको बेञ्च र टेबल ल्याई दिनुभयो, त्यही बेञ्च र टेवलबाट सुरु गरेको व्यवसाय अहिलेसम्म चलिरहेकै छ,” शाक्यले भने “जहिलेसम्म हातले कलम र मसी समात्न सक्छ, त्यसबेलासम्म यो व्यवसाय चल्नेछ, अरु जस्तो दुःख छैन, जतिबेला गरे पनि भयो, आफ्नै हिसाबले काम गर्न पाइन्छ, कसैको दबाब सहनु परेन, आनन्दै छ ।”
शाक्यले आफ्नो यही पेसाबाटै दुई छोराको उच्च शिक्षा पढाइ सक्ने । जेठो छोरो अहिले अध्ययनकै लागि अष्ट्रेलिया पुगेका छन् । परिवारको जीविकोपार्जनसँगै शाक्यको बागलुङ बजारको सिर्जना टोलमा पक्की घर खडा छ । दुई छोरा र श्रीमतिसहित चार जनाको परिवार खुसी साथ जीवन निर्वाह भईरहेको शाक्य बताउछन् । “मलाई यही पेसामा आनन्द छ, दुःख भए पनि झण्झट भए पनि काम गर्न मज्जा आउँछ, अरु पेसामा चासो पनि दिइएन, अहिले ३१ वर्ष भयो मैले यो पेसा सुरु गरेको, अहिलेसम्म परिवार खुसी नै छ, सबै जना सन्तुष्टि नै छन्, जीविकापार्जन पनि राम्रै भएको छ,” शाक्यले भने “परिवारलाई खुसी राख्नु नै मेरो दायित्व हो, अहिलेसम्म राम्रै चलिरहेको छ ।”
बढ्दो प्रविधिका कारण मौलिक कला सङ्कटमा पर्दै गएको शाक्य बताए । उनले पहिले अत्यधिक रुपमा हुने भित्ते लेखन, ब्यानर, साइनबोर्ड लेखनहरु अहिले फ्लेक्स प्रिन्टले गर्दा निकै कम भएको बताउछन् । “पहिल–पहिले भित्ते लेखन, व्यावसायिक साइन बोर्डहरु लेख्नका लागि निकै आउने गर्थे तर अहिले ह्वात्तै घटेको छ, व्यवसायीहरुले पनि फ्लेक्स प्रिन्ट गर्नतर्फ लागे, त्यसले गर्दा यो काम निकै कम आउने गरेको छ,” शाक्यले भने “केही वर्ष अगाडिसम्म त भ्याइनभ्याइ हुन्थ्यो, हातले लेख्न कामहरु अहिले बिस्तारै घटिरहेको छ ।”
उनले आधुनिकताले कला क्षेत्रलाई प्रभाव पारे पनि आफूले यही रुपमै आफ्नो व्यवसायलाई निरन्तरता दिने बताए । शाक्यले पेन्टिङले नै आफूलाई चिनाएको भन्दै आफू फ्लेक्स तिर नलागेको बताए । “म यो कामलाई सक्दासम्म निरन्तर गरिरहन्छु, मलाई यही कलाले चिनाएको हो, यतिका वर्ष भयो मैले यसैलाई नै निरन्तरता दिएको छु, यो मेरो कला हो, कला बेच्छु,” उनले भने “डिजिटल त जसले पनि बनाउन सक्छ, यस्तो कला सबैमा हुँदैन ।”
शाक्यले आफूलाई भगवानले नै गरी खान भनि यस्तो कला दिएकोमा विश्वास छ । आफूले बायाँ हातले नै सबै चित्रहरु कोर्ने र लेख्ने गरेको भन्दै कलाको संरक्षण सबैले गर्नु पर्ने शाक्यको भनाई छ । नौ सय रुपैयाँबाट कला व्यवसाय सुरु गर्नुभएका शाक्यले अहिले वार्षिक १५ लाख बढी आम्दानी गर्दै आएको बताउछन् । शाक्यको पसलमा अहिले पनि सयौँ नागरिकहरु चित्र कोर्न र कलासम्बन्धी कामहरु लिएर आउने गर्छन् ।
“पहिलेको तुलनामा डिजिटल प्रविधिको आगमनले केही प्रभाव त पारेकै छ, तर अझै पनि धेरै नागरिकहरु विभिन्न काम लिएर आउने गर्नुहुन्छ, कहिलेकाहीँ भित्ते लेखनको काम पनि हुन्छ, गाउँ गाउँ पुग्छु, यो व्यवसाय अझै पनि राम्रो छ,” शाक्यले भने “कहिले दिनमै २० हजार पनि हुन्छ, कहिले आम्दानी निकै कम हुन्छ तर कमाई भएन भने र निराश हुनु पर्ने अवस्था भने छैन, पहिलेको तुलनामा केही कम भएकै छ, त्यस्तो ठप्पै चाहीँ भएको छैन ।”
रन्तल आर्ट पुग्यो भने त्यहाँ दर्जनौं प्रकारका चित्र/स्केचहरु देख्न सकिन्छ । उनले आफ्नो कार्यकक्षदेखि घरका भित्ताहरु पनि आफैले कोरेका आकर्षक चित्रहरु राख्नु भएको छ । जसले उनको घरमा प्रवेश गर्दा मात्रै पनि कुनै आकर्षक ‘कला घर’ मा प्रवेश गरेको अनुभूति हुन्छ । डिजिटल बजारको माग र प्रभाव बढ्दै गए पनि आफूलाई मौलिकता र आफ्नो कलामा विश्वास भएकाले आम्दानी र भविष्यमा निराश हुनुपर्ने अवस्था नभएको शाक्य बताउछन् ।
“मलाई आफ्नो कला पौरखमा विश्वास र भरोसा थियो, छ, यो काम गर्न मलाई निकै उत्साह जागेर आउँछ,” उनले भने, “आफूले तयार गरेका कलाहरुको पनि असिम माया लागेर आउँछ, अरुले बनाएको कलाप्रति पनि उत्तिकै सम्मान गर्न मन लाग्छ ।” अब आफ्नो घरलाई नै आकर्षक ‘आर्ट ग्यालरी’ को रुपमा सजाउने सपना रहेको उनले बताए । अहिले घरका भित्ता, झ्याललगायतका ठाउँमा चित्रहरु राखेको उनको भनाई छ ।
पछिल्लो पुस्ताले यसतर्फ ध्यान नदिँदा यो क्षेत्रनै सङ्कटमा पर्ने डर उनमा छ । “अहिलेका युवा पुस्तामा चित्र कोर्ने, ब्यानर लेख्ने चासो देखिंदैन, उनीहरुलाई केही चाहिँदा बित्तिकै डिजिटल बोर्ड छाप्न गई हाल्छन् । उनलाई भोलि यो क्षेत्र पनि कतै लोप होला कि भन्ने चिन्ताले सताएको छ ।





