अन्तर्राष्ट्रिय

आतङ्कवाद नियन्त्रणमा सबैको समन्वय आवश्यकः लेबनानी प्रधानमन्त्री

२८ मङ्सिर, बेरुत । लेबनानका कार्यबाहक प्रधानमन्त्री नाजिब मिकातीले आतङ्कवादका विरुद्धमा लड्नका लागि कुनै एकमात्र देशको प्रयास सम्भव नभएकाले सबै देशले आपसमा सहयोग र समन्वयका साथ लाग्नुपर्ने बताएका छन् ।

उनले भने– कुनै एक देश आतङ्कवादीहरुबाट पीडित छ भने यो समस्या कुनै एक देशले मात्र सामना गर्न सक्दैन, सबैको सहयोग आवश्यक पर्दछ । सबै देशले एक आपसमा समन्वय गरेर सहकार्य गर्नुपर्दछ ।

आतङ्कवादको नियन्त्रणका विषयमा लेबनानको राजधानी बेरुतमा मङ्गलबार आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् ।

प्रधानमन्त्री मिकातीले भने– विश्व नै गएका केही दशकदेखि आतङ्कवादको चपेटामा परेको छ, विश्वको कुनै एक देश नभएर विश्वका कैयौँ देश यो समस्यामा परेका छन्, त्यसैले यसको नियन्त्रणका लागि विश्वले नै समन्वयात्मक रुपमा काम गर्नुपर्छ ।

उनले विश्वमा कैयौँ देशमा पछिल्ला वर्षहरुमा आतङ्कवादले क्षति पु¥याएको, कैयौँ नागरिकको ज्यान गएको र अरु धेरै भौतिक सम्पत्तिको पनि क्षति भएकाले यो समस्यालाई समाधान गर्न कुनै एकमात्र देशको प्रयास सम्भव नहुने बताए ।

लेबनानी सुरक्षा निकायहरुले पनि विगतमा आतङ्कवाद नियन्त्रणका लागि विभिन्न अपरेशनहरु गरेको, आतङ्कवाद नियन्त्रणका कार्यक्रमहरु सञ्चालन गरेको र सम्भावित आतङ्कवाद हमला रोक्नका लागि निकै सतर्कता अपनाएको पनि उनले बताए ।