समाचार

पृथ्वीनारायण शाहको जीवनी र दिव्योपदेश हिन्दीमा, राष्ट्रपिता घोषणा गर्न माग

२५ पुस, काठमाडौं । नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी र दिव्योपदेशको हिन्दी अनुवाद सार्वजनिक भएको छ ।

पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्तीका अवसरमा श्रीपाली बस्न्यात समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा अनुवाद गरिएको पुस्तक ‘महाराजा पृथ्वीनारायण शाह की सङ्क्षिप्त जीवनी और उनके उपदेश’ विमोचन गरिएको हो । पूर्वराजदूत निरञ्जनमानसिंह बस्न्यातले अङ्ग्रेजीमा लेख्नुभएको पुस्तक हिन्दीमा अनुवाद गरिएको हो । हिन्दी अनुवाद प्रीतिमा वत्सले गरेका हुन् ।

यो पुस्तक यसअघि स्पेनिस, फ्रेन्च भाषामा अनुवाद भइसकेको छ । पुस्तक चिनियाँ भाषामा पनि अनुवादको तयारी भएको जनाइएको छ । पुस्तक विमोचन गर्नुहुँदै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वनिमित्त कुलपति डा जगमान गुरुङले खतरामा परेको नेपाल राष्ट्रलाई अघि बढाउन श्रीपाली बस्न्यात समाजको भूमिका महत्त्वपूर्ण हुने बताए ।

पृथ्वीनारायण शाहकालीन नेपालका पहिलो प्रधानसेनापति शिवरामसिंह बस्न्यातको निवासस्थानका रूपमा रहेको इन्द्रचोकस्थित तिलङ्गा भवनलाई जोगाएर स्मारक निर्माण गर्न पनि उनले श्रीपाली बस्न्यात समाजको ध्यानाकर्षण गराएका थिए ।

“दरबार हत्याकाण्डका बेला तत्कालीन राजाका एडिसीका रूपमा रहनुभएका विनोद बस्नेतलाई बिदामा बस्नुस् भनिएको थियो भन्ने विवरण आएको छ, कसले यसो भनेको थियो ? यो खोजीको विषय छ, विनोद पनि श्रीपाली बस्न्यात हुनुहुन्थ्यो, उहाँ त्यो घटनामा हुनुभएको भए यो अवस्था नहुन सक्थ्यो भन्ने अनुमान पनि छ, यही घटनाले पनि दरबार हत्याकाण्ड नियोजित थियो भन्ने पुष्टि गर्छ”, डा गुरुङले भने ।

क्षत्री समाजमा पोसाक एवं विवाह संस्कारलगायतका खाँडो जगाउने संस्कृति हराउन थालेकाले त्यसको पुनर्जागरणका लागि पनि समाजले काम गर्नुपर्ने उनको भनाइ थियो । संस्कार र संस्कृति भुले पहिचान पनि भुल्ने भएकाले समाजले यस विषयमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

इतिहासविद् प्रा दिनेशराज पन्तले पृथ्वीनारायण शाहका विषयमा लेखिएको प्रामाणिक पुस्तक भएकाले धेरै भाषामा अनुवाद भएको बताए । पृथ्वीनारायणकै सन्ततिले उनको योगदानको सम्मान नगरेका बेला श्रीपाली बस्न्यात समाजले महत्त्वपूर्ण काम गरेको उनले सुनाए ।

पूर्वपरराष्ट्र सचिव एवं पूर्वराजदूत मदनकुमार भट्टराईले नेपालको परराष्ट्र नीतिको मूलधार पृथ्वीनारायण शाहकै पालामा बनेको कार्यक्रममा जानकारी गराए । पढेकाहरू अन्यत्रै लाग्दा नपढेका नेपालीले नेपाल बचाएको उनको भनाइ थियो ।

बाग्लुङका श्रीपाली बस्नेतहरू सार्वजनिक कार्यक्रममा सहप्राध्यापक डा विनोद थापाले लेख्नुभएको ‘बाग्लुङका श्रीपाली बस्नेतहरु’ पुस्तक पनि सार्वजनिक गरिएको छ । पुस्तक सेनानी थम्मनबहादुर बस्नेतको संयोजनमा प्रकाशन गरिएको हो । पुस्तकका विषयमा समीक्षा गर्दै साहित्यकार एवं शिक्षासेवी मनबहादुर खत्रीले ब्राह्मण, क्षत्री र मगर मिलेर नेपाल एकीकरण गरेको विषय पुस्तकमा उल्लेख गरिएको बताए ।

केही स्थानका नाममा अशुद्धि भेटिए पनि समग्रमा ऐतिहासिक विषयवस्तुमा जानकारी दिन पुस्तक सफल रहेको उनले जानकारी गराए । सीमाविद् बुद्धिनारायण श्रेष्ठले दक्षिणतिर ७१ स्थानमा नेपालको सीमा मिचिएको उल्लेख गर्दै उत्तरतिर पनि दोलखाको लामाबगरमाथिको ५७ नंको सीमास्तम्भ सारेर छ हेक्टर सीमा मिचिएको जानकारी दिए ।

समाजका अध्यक्ष डा निरञ्जनमानसिंह बस्न्यातले नेपाल एकीकरण गरेको योगदानलाई स्मरण गर्दै पृथ्वीनारायण शाहलाई राष्ट्रपिता घोषणा गर्न माग गरे । पृथ्वीनारायण शाहले एकीकरण गरेको नेपाललाई उनका सन्ततिले त्यसै अनुरुप अघि बढाउन नसकेको उनको भनाइ थियो ।

कार्यक्रममा बस्न्यात समाजका धनमानसिंह बस्न्यात, पुस्तकका लेखक डा विनोद थापा, विश्व सम्बन्ध परिषद्का अध्यक्ष डा नकुल बानियाँ, पूर्वप्रहरी उपरीक्षक खगेन्द्र बस्नेत, लक्ष्मी कुँवर बस्न्यातलगायतले पृथ्वीनारायण शाह र श्रीपाली बस्न्यातका पुर्खाले गरेको योगदानका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा पुस्तक प्रकाशनका लागि योगदान गर्ने लेखक थापा, मनबहादुर खत्री, अमन श्रेष्ठ र केयरसिंह बस्न्यातलाई सम्मानसमेत गरिएको थियो ।