मनोरञ्जन

फिल्मको मोफसलमा व्यापार वृद्धि

२९ पौस, काठमाडौं । डिजिटल प्रविधिमा फिल्म निर्माण हुन थालेदेखि नेपालभर फिल्म एकसाथ प्रदर्शनमा गर्ने गरिन्छ । त्यसअगाडि उपत्यकाबाहिर मोफसलमा प्रदर्शन भएपश्चात् फिल्म काठमाडौँ आइपुग्थ्यो । अवस्था फेरिएसँगै मोफसलमा हुने व्यापारसमेत बढेको छ । पोखरा, नारायणगढ, नेपालगञ्ज, बुटवल लगायतका सहरमा फिल्मको व्यापारसँगै प्रचारप्रसार बढेको छ ।

प्रदर्शनका लागि तयार फिल्मले प्रायः मोफसल भ्रमण गरेको पाइन्छ । गत कात्तिकमा प्रदर्शन भएर ५१औँ दिन मनाएको फिल्म ‘महापुरुष’ को चितवन र इटहरीमा प्रिमियरसमेत भयो । “मोफसलमा दर्शक बढाउने हो भने प्रचारप्रसारअन्तर्गत हुने गतिविधि काठमाडौँ केन्द्रित मात्र गर्न हुँदैन । त्यही कारण हामी मोफसलको हरेक सहरमा पुगेर दर्शकसँग प्रत्यक्ष रूपमा साक्षात्कार गरेका थियौँ”, कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले भने ।

हालै आफू निर्मित तथा निर्देशित फिल्म ‘तिम्रो मेरो साथ’ चितवनमा प्रिमियर गर्नुभएका रमेश एमके पौडेलले नेपालमै बजार खोज्न आवश्यक रहेको बताए । “मोफसलमा वीरगञ्ज, मलङ्गवा, जनकपुरलगायत स्थानको बजारमा हामीले नेपाली फिल्मको बलियो उपस्थिति देखाउन बाँकी छ । त्यहाँ भोजपुरी फिल्मको दबदबा छ”, निर्देशक पौडेलले भने ।

मोफसल भ्रमणमै रहेका छायांकार तथा कार्यकारी निर्माता सुदीप बरालले काठमाडौँ केन्द्रित प्रचारप्रसारले मोफसलमा नपुग्ने बताए । उनी आबद्ध फिल्म ‘ह्यारी कि प्यारी’ को कलाकार जीतु नेपाल, साम्राज्ञी आरएल शाह, विजय बराल र निर्देशक डाक्टर कपिल रिजालले मोफसलमा हुने महोत्सव र पत्रकार सम्मेलनमा सहभागिता जनाउनेछन् ।

“हामी तयारी गरिरहेका छौँ । आउँदो साताबाट प्रचारप्रसार सुरु गर्दैछौँ । हाम्रो उपस्थितिले दर्शकलाई आफ्नोपन महसुस गराउँछ”, कार्यकारी निर्माता बरालले भने । वितरक करण श्रेष्ठले मोफसलमा राम्रो बाजार बन्न सक्ने बताए । “हामीले राम्रोसँग प्रचारप्रसार गरे राम्रो व्यापार हुन्छ । किनकि व्यापारमा रेकर्ड राख्ने फिल्मको कलेक्सनसमेत ग्रामीण भेगमा न्यून छ”, वितरक श्रेष्ठले भने ।