प्रवास

कतारमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

मणि पौडेल, ८ पौस, दोहा । नेपाली रक्तदाता संघ कतारको संयोजकत्वमा कतारमा स्थापित विभिन्न ७२ वटा संघ संस्थाहरुको आयोजनामा संयुक्त रुपमा बृहत रक्तदान कार्यक्रम (२०२३ सम्पन्न भएको छ ।

‘रक्तदान जीवन दान’ भन्ने मुल मन्त्रलाई अंगिकार गर्दै यहि २० जनवरि २०२३ शुक्रबारका दिन हमाद हस्पिटलको ब्लड डोनर सेन्टरको सहकार्यमा ूबृहत रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।

रक्तदान कार्यक्रममा रक्तदाता संघ कतारका अग्रज व्यक्तित्व,समाजका प्रभुत्व व्यक्तिहरु, सामाजिक अभियन्ता, बिभिन्न बैचारिक संघ संस्थाका प्रमुखहरु, सामाजिक संघसंस्थाका प्रमुख लगाएत कतारमा कार्यरत अन्य नेपाली सामाजिक व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

बिहान ८ः ०० बजे सुरु भएको रक्तदान कार्यक्रम बिपिन श्रेष्ठ बाट सुरु गरिएको थियो ! कार्यक्रममा १८३ जनाको उपस्थिती, ८८ जना दर्ता भएकोमा ७१ जनाले रक्तदान गरेका थिए भने रक्तदाताहरुलाई संघले प्रशंसा पत्र समेत प्रदान गरेको थियो ।

नेपाली रक्तदाता संघ कतारका अध्यक्ष स्वामी रामजी खत्रीले बोल्दै कतारका नेपाली संघ संस्थाहरुलाई एकीकृत गर्दै मानवीय धर्मप्रती केन्द्रित भएर ७२ भन्दा धेरै कतारका नेपाली संघ संस्था हरुको समन्वयमा ‘रक्तदान’ जस्तो पुन्य काम गर्न पाउनु गौरव रहेको बताएका थिए।

संयुक्त रक्तदान कार्यक्रमले नेपाली समुदाय भित्र आत्मियता, भातृत्व, एकता र समाजप्रतिको समर्पण अझै दृढ र दिगो हुने समेत आँकलन गरिएको बताउदै यस्ता कार्यक्रमले समयको सदुपयोग, कार्यक्रममा सहभागी हुने अतिथि तथा सहभागीहरुलाई आर्थिक भार कम, एकै दिन धेरै कार्यक्रममा उपस्थिति हुनुपर्ने झन्झट र बोझिलो अवस्था लगायतका समस्याहरुमा समेत न्युन हुने भएकोले दोहामा रहेका अन्य संस्थाहरुका कार्यक्रम पनि यसै गरि संयुक्त रुपमा हुन सके अति उत्तम हुने समेत अध्यक्ष खत्रीको भनाइ रहेको छ ।

सन २०२० मा कतारमा स्थापित नेपाल रक्तदान संघ कतार हाल करिब १४ वटा देशमा शाखा बिस्तार गरि बिधिवत रुपमा सामाजिक कार्य गर्नुका साथै नेपालमा समेत यस्तै मानवीय पुण्य कार्यको शुरूवात गरिएको र नेपालमा दर्ता प्रक्रिया पूरा भएको र संस्थाले रक्तदान संगै विविध किसिमका मोटिभेसनल कार्यक्रम संचालन गर्दै आएको उन्ले बताए ।

नेपाली रक्तदाता संघ कतार शाखाले यहाँ रहेका सम्पुर्ण संघ संस्थासंग सहकार्य गर्दै आगामी दिनमा यहाँ रहेका लेबर क्याम्प हरुमा पुगि रक्तदान गर्ने र समाजलाई एकीकृत गर्दै आगामी दिनमा समेत अगाडि बढ्ने उदेश्य राखेको अध्यक्ष खत्रीले बताउदै उपस्थिति सम्पुर्णमा धन्यवाद सहित आभार प्रकट गरे ।