पत्रपत्रिका

काठमाडौ महानगरका कर्मचारीले कसरी कमाए अकुत सम्पती ? सम्पत्ति छानबिन गर्ने मेयर शाहको यस्तो छ तयारी !

१७ माघ, काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले केही कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने तयारी गरेका छन् । यसका लागि उनले अख्तियार अनुसन्धार दुरुपयोग आयोग,राष्ट्रिय सतर्कता केन्द्र र नेपाल प्रहरीसँग समन्वय गरिरहेका छन् ।

कान्तिपुरलाई मेयर बालेन्द्रका सहयोगीहरूबाट प्राप्त जानकारी अनुसार ३५ देखि ४० जना कर्मचारीहरुको सम्पत्ति छानबिन हुन लागेको हो । महानगरमा करिब २१ सय जना कर्मचारी कार्यरत छन् । काठमाडौं महानगरपालिकाको विभिन्न महाशाखाका प्रमुख, विभागीय प्रमुख, शाखा प्रमुख,वडा सचिव, केही नगर प्रहरीलगायत विभिन्न शाखामा कार्यरत तल्लोतहदेखि माथिल्लो तहसम्मका कर्मचारी छन् ।

विभिन्न बहानाबाजी बनाउँदै सेवाग्राहीलाई झुलाउने, दुःख दिने जस्ता गुनासाहरू महानगरमा आइरहेको छ । जनतासँग प्रत्यक्ष रुपमा जोडिएका कामहरू चाँडो गर्न र कुनै पनि बहानामा जनताले दुःख नपाउने गरी सम्पन्न गर्न मेयर शाहले निर्देशन दिए पनि सेवाग्राहीबाट निरन्तर रुपमा गुनासो र भ्रष्टाचारको गुनासो आउन थालेपछि बालेन्द्रले उक्त निर्णय लिएको उनका एक सहयोगीले कान्तिपुरलाई बताए । वडा स्तरमा कार्यरत कर्मचारीहरु समेत कमिसनको लोभमा टेण्डर तथा कोटसनका कामहरुमा बढी ध्यान दिन थालेको बालेन्द्रको टिमले जनाएको छ ।

यसबारे उनको सचिवालयले आधिकारिक रुपमा नबताए पनि ‘स्वभाविक प्रक्रिया’ भनेको छ । कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने तयारी भइरहेको हो ? भन्ने प्रश्नमा मेयर बालेन्द्रको सचिवालयले ‘स्वभाविक प्रक्रिया’ भनेको छ ।

विगतका नेतृत्वदेखि नै काठमाडौं महानगरपालिकामा भ्रष्टाचारको अखडा भएको भन्दै गुनासो आउने गरेको थियो । मेयरमा निर्वाचित भएयता बालेन्द्रले ‘पर्ख र हेर’को नीति लिए पनि पुरानै नेतृत्वमा भएजस्तै काम कर्मचारीहरुबाट हुन थालेको उनको टिमले निष्कर्ष निकालेको छ । मेयरमा निर्वाचित भएयता ८ महिनामा पनि सेवाग्राहीको गुनासो झन धेरै बढ्न थालेपछि शाहले ती कर्मचारीहरूको सम्पत्ति छानबिन गर्नका लागि सम्बन्धित निकायसँग परामर्श थालेका हुन् ।
‘भ्रष्टाचार शून्य नगर’को रुपमा अग्रसर बालेन्द्रले सेवालाई डिजिटलाइज गर्नमा विशेष जोड दिएका छन् । अघिल्लो सातादेखि महानगरले वडा नम्बर ५मा डिजिटल प्रणालीबाट राजस्व तिर्ने कामको थालनी गर्दै सेवा विस्तार गरिरहेको जनाएको छ ।

‘हामीले अहिले ३५/४० जना कर्मचारीलाई शंकाको सूचीमा राखेका छौं । तिनको सम्पत्ति र बैंकिङ ट्रान्जेक्सन हेरेपछि अरु आउने गुनासोको आधारमा अख्तियार र सतर्कता केन्द्रलाई सूचना उपलब्ध गराउने छौं’, मेयरका सचिवालयका एक सदस्यले भने । कान्तिपुर दैनिकबाट