स्वास्थ्य

खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

१९ माघ, काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

जनतामा ठूलो निराशा आउन सक्ने भन्दै खरिद प्रक्रियामा पूर्ण शुद्धता कायम गर्न मातहतका सबै निकाय लाग्नुपर्ने मन्त्री गिरीको भनाइ छ ।

बिहीबार काठमाडौंको टेकुस्थित स्वास्थ्य सेवा विभागको अनुगमन गर्ने क्रममा उनले खरिद प्रक्रियामा पारदर्शिता कायम नभएको गुनासो विभिन्न समाचार माध्यममा आउने गरेको उल्लेख गर्दै त्यस्तो गरेको अब पनि पाइए सैह्य नहुने चेतावनीसमेत दिए ।

मन्त्री गिरीले कुनै पनि निकायबाट नीतिगत भ्रष्टाचार हुने वा निहित स्वार्थमा काम हुने गरेको पाइएको उल्लेख गर्दै त्यसलाई तत्काल निरुत्साहित पार्न पनि सचेत गराए । उनले अस्पतालहरूलाई पूर्णरुपमा प्रविधिमैत्री बनाउन पनि सम्बन्धित पक्ष लाग्नुपर्ने बताए ।

“खरिद प्रक्रियामा हन्ड्रेड पर्सेन्ट शुद्धता कायम गरियोस् । त्यहाँ कुनै पनि किसिमको नीतिगत भ्रष्टाचारको वा स्वार्थ अनुकूलका काम गर्ने भएको छ भने त्यसलाई पूरा निरुत्साहित बनाउनु पर्दछ,” मन्त्री गिरीले भने, “यो कुरामा सम्बन्धितको ध्यान जाओस् । स्वास्थ्य संस्थाहरूलाई प्रविधिमैत्री बनाउनु पर्दछ ।”