ब्रेकिङ न्युज

मिटरब्याज पीडितलाई सरकारले किन हवाईमार्गबाट काठमाडौं बोलायो?

३२ असार, काठमाडौं । मिटरब्याज पीडितसँग वार्तालाई अघि बढाउन सरकारले नयाँ पहल गरेको छ। तराईबाट पैदल यात्रा गर्दै आएका आन्दोलनकारीलाई बाराको सिमरा विमानस्थलबाट जहाजमार्फत काठमाडौं ल्याएर सरकार–पीडितबीच प्रत्यक्ष वार्ता गराउने तयारी गरिएको हो।

गृहमन्त्री सुधन गुरुङको पहलमा यो व्यवस्था मिलाइएको उनको सचिवालयले जनाएको छ। पैदल यात्रा गर्दै आएका पीडितलाई बारामै रोकिएपछि गृहमन्त्रीले चार चरणसम्म छलफल गरे पनि कुनै ठोस सहमति हुन सकेको थिएन। त्यसपछि काठमाडौंमै थप वार्ता गर्ने उद्देश्यले उनीहरूलाई हवाईमार्गबाट ल्याउने निर्णय गरिएको हो।

उता, मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा सरकारी वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। सरकारले वार्तामार्फत आन्दोलनको समाधान खोज्ने प्रयास थालेको जनाएको छ।

यसअघि मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलनले पनि अवधेश कुशवाहाको संयोजकत्वमा आफ्नो औपचारिक वार्ता टोली गठन गरिसकेको छ। टोलीमा मनोजकुमार पासमान, रिजन राना मगर, लक्ष्मी घिमिरे, किरण परियार तथा निर्ग नवीन सदस्य रहेका छन्।

यद्यपि, आन्दोलनरत पक्षले अघि सारेको ६ बुँदे सहमतिपत्रलाई लिखित रूपमा हस्ताक्षर गरी कार्यान्वयनको स्पष्ट सुनिश्चितता गर्नुपर्ने अडान कायम राखेकाले वार्ता अझै निष्कर्षमा पुग्न सकेको छैन। सरकार र आन्दोलनकारीबीच अब काठमाडौंमा हुने वार्ताबाट समाधानको अपेक्षा गरिएको छ।