प्रदेश 1

१६ करोड २२ लाख लागतमा इटहरीमा बसपार्क बनाउन नगरपालीकाको सम्झौता

२० माघ, इटहरी। इटहरी उपमहानगरपालिकामा आधुनिक बसपार्क निर्माण हुने भएको छ । तीन तले सुविधा सम्पन्न बसपार्क निर्माणका लागि नगर विकास कोषसँग सम्झौता भएको उपमहानगरले जनाएको छ ।

कुल रू १६ करोड २२ लाख १८ हजार लागतमा आधुनिक बसपार्क निर्माणको सम्झौता भएको उपमहानगरपालिकका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेल र नगर विकास कोष काठमाडौँका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले बसपार्क निर्माणसम्बन्धी सम्झौतापत्रमा बिहीबार हस्ताक्षर गरेका छन् ।

प्रमुख पौडेलका अनुसार बसपार्क निर्माणमा कोषको ७० प्रतिशत र उपमहानगरको ३० प्रतिशत लगानी हुनेछ । बसपार्क १८ महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।

पौडेलले इटहरी भएर नै पूर्व–पश्चिम र उत्तर–दक्षिण चल्ने सवारी साधन गुड्ने हुनाले अरु सहरभन्दा सवारी साधनको चाप बढी हुने क्षेत्रलाई व्यवस्थित गर्न लागिएको बताएका छन् । बसपार्क व्यवस्थित हुँदा बीचमा बुकिङ काउन्टरसँगै व्यवस्थित प्रतिक्षालय रहनेछ ।