सूचना प्रविधि

उन्नाइस वर्षमा टेलिकम, सेवा गुणस्तर तथा ग्राहकको सन्तुष्टिमा अझै मेहनत आवश्यक

२२ माघ, काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपाल टेलिकमको सेवा भरपर्दो र गुणस्तरीय नभएको आलोचना गरेका छन् । “सेवा प्रदायकका लागि चुनौतीका रूपमा रहेको मैले पाएको छु, विशेषतः सेवा महँगो भयो, सेवाको उपलब्धता छैन भन्ने आम गुनासो रहेका छन् । उपभोक्ताको चाहनाअनुरूप गुणस्तरीय एवं भरपर्दो सेवा उपलब्ध गराउन सेवाप्रदायक विशेषतः नेपाल टेलिकमलाई अनुरोध गर्न चाहन्छु”, उनले भने ।

टेलिकम सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले नियामक निकाय पनि बल्ल नियामक जस्तो भएको बताए । उनले भने, “प्राधिकरणका अध्यक्षज्यूले भर्खरै जुन कुरा राख्नुभो त्यो कुरामा राम्रैसँग मनन गर्नुपर्छ, प्राधिकरणका अध्यक्षलाई हामीले बेलाबेलामा भन्ने गर्थ्यौँ, अलिक नियामक जस्तै त होइदिनुस् न । आज चाहिँ नियामकले नियामकै जस्तो भाषण गर्नुभएको छ । त्यो भाषण मात्रै हैन हामीलाई झकझक्याउनु पनि भएको छ हामीले हाम्रा कामलाई कसरी सुधार गर्ने, काममा कसरी तदारुकता देखाउनुपर्ने भनेर राम्ररी व्याख्या गर्नुभएको छ, यो कुरो सबैले बुझेको हुनुपर्छ । सञ्चालक समितिका अध्यक्षको हैसियतले मैले गम्भीरतापूर्वक लिएको छु ।”

टेलिकमको १९औँ वार्षिकोत्सवमा नियामक र सेवा प्रदायकबीचको सवाल जवाफले टेलिकमको सेवा र गुणस्तरीयताको साङ्केतिक झझल्को दिन्थ्यो । तथापि अनेकौँ चुनौती र व्यवधानको सामना गर्दै राष्ट्रको सञ्चार टेलिकमले सेवा विस्तार र राजस्व अभिवृद्धिमा उल्लेखनीय भूमिका खेलेको दुवै वक्ताको कथन थियो ।

सचिव अर्यालले आगामी दिनमा टेलिकमको सेवालाई भरपर्दो र गुणस्तरीय बनाउनेतर्फ लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले टेलिकमको सेवालाई सुलभ र सुपथ दरमा देशभर विस्तार गर्न आग्रह गरे । गुनासो आउने संयन्त्र र तत्कालै सम्बोधन गर्ने प्रणाली विकास नभए प्रतिस्पर्धी बजारमा ग्राहकको आकर्षण र सेवामा सन्तुष्टि दिन नसकिने भन्दै तत्काल यस्तो प्रणालीको व्यवस्था गर्न अनुरोध गरे । सचिव अर्यालले डाटा सेवालाई सहज र सुलभ बनाई बजार हिस्सा अभिवृद्धिमा ध्यान दिनसमेत आग्रह गरे ।

टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेलले दूरसञ्चार सेवालाई अझै बढी सर्वसुलभ तथा गुणस्तरीय बनाउँदै आफ्नो बजार हिस्सालाई मजबुत गर्ने उद्देश्य हासिल गर्न सेवा विस्तार र सेवाको गुणस्तरमा विशेष जोड दिँदै आइरहेको उल्लेख गरे । नियामक निकायले दूरसञ्चार सेवा गुणस्तीय हुन नसकेको र ग्राहकबाट बारम्बार गुनासो बढिरहेको भनी आलोचना गरिरहँदा सेवाप्रदायक टेलिकमले सेवालाई नियमित, सरल, सुलभ र गुणस्तरीय बनाउन लागि परेको जनाएको छ ।

प्राधिकरणका अध्यक्ष खनालले सेवा विस्तारसँगै सेवाको भरपर्दोपना, निरन्तरता र गुणस्तरीय बनाउन पनि ध्यान दिन टेलिकमलाई अनुरोध गरे । सर्वसुलभ रूपमा सेवा उपलब्ध गराउनुका साथै सरकारले अघि सारेको डिजिटल नेपाल फ्रेमवर्कको अवधारणा पूरा गर्ने चुनौती थपिएको उल्लेख गर्दै उनले सूचना प्रविधि महामार्ग निर्माणको काम प्रभावकारी अघि बढाउन निर्देशन दिए ।