राजनीति

४/५ हजार मान्छेले लुकेर मान्छे मार्नु ‘जनयुद्ध’ होइन, सशस्त्र विद्रोह हो : वरिष्ठ उपाध्यक्ष मिश्र

२९ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले ४६/६२-६३ सालको आन्दोलनलाई ‘जनआन्दोलन’ भन्न मिल्ने टिप्पणी गरेका छन् । पुर्व पत्रकारसमेत रहेका मिश्रले ४/५ हजार मान्छेले लुकेर मान्छे मार्दा त्यसलाई ‘जनयुद्ध’ भन्न नमिल्ने टिप्पणी गरेका छन्।

सरकारले जनयुद्ध दिवस फागुन १ गते सार्वजनिक विदा दिने गरेको निर्णयप्रति राप्रपाले आपत्ति जनाएको छ । राप्रपाबाट सरकारमा सहभागी मन्त्रीहरु आज बसेको मन्त्रिपरिषद बैठकमै उपस्थित भएनन् ।

सरकारको उक्त निर्णयप्रति वरिष्ठ उपाध्यक्ष मिश्रले पनि आपत्ति जनाएका छन् । उनले यो समाजमा यस्ता गलत भाष्यहरू धेरै निर्माण भएको भएका छन् । ‘ठिक छ, यति तल गिर्नै थियो, गिर्दै छौँ । रसातलमा पुग्नै आँटेका छौँ । त्यसपछि यो राष्ट्रघाती ‘विकृत अग्रगमन’ को प्रदूषणकारी बत्ती आफैँ निभ्नेछ’ उनले भनेका छन् ।

उनले लेखेका छन्, ‘जनयुद्ध दिवस ?
निभ्न लागेको बत्ती यसैगरी चम्किन खोज्छ!

नेपालीले नेपाली मारेकोमा ‘दिवस’ मनाउने?

४६/६२-६३ सालको आन्दोलनलाई ‘जनआन्दोलन’ भन्न मिल्छ, जतिबेला लाखौं नेपाली सडकमा निस्किए।

४/५ हजार मान्छेले लुकेर मान्छे मार्दा त्यसलाई ‘जनयुद्ध’ भन्ने? त्यो केवल ‘सशस्त्र विद्रोह’ थियो।

यो समाजमा यस्ता गलत भाष्यहरू धेरै निर्माण भएका छन्।

ठिक छ, यति तल गिर्नै थियो, गिर्दै छौँ। रसातलमा पुग्नै आँटेका छौँ। त्यसपछि यो राष्ट्रघाती ‘विकृत अग्रगमन’ को प्रदूषणकारी बत्ती आफैँ निभ्नेछ।
अब धेरै धैर्य गर्नु नपर्ला!’