समाचार

भोलिदेखि काठमाडौंभित्र गाडी नचलाउने यातायात व्यवसायीको घोषणा

१ फागुन, काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सोमबारदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेको छ ।

सोमबार साँझ यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन् । नयाँ बसपार्कको ठेकेदार लोत्से कम्पनीले गुण्डागर्दी गरेको भन्दै मजदुरहरू सडकमा उत्रिएका हुन् ।

उनीहरूले बालाजु क्षेत्रमा सडकमा गाडी तेर्साएर अवरूद्ध गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त रूपमा आन्दोलन गरेको हो ।

ट्राफिक प्रहरीले ऐनविपरीत जरिवाना असुल्ने, चालकहरूको लाइसेन्स निलम्बन गर्ने, प्रदूषणका नाममा रकम असुली लगायत मनोमानी गरेको उनीहरूको आरोप थियो ।