समाचार

महानिरीक्षक सिंहद्वारा एआइजी सिंहको बिदाइ

५ फागुन, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी सेवा निवृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पूजा सिंहलाई आज एक समारोहका बीच बिदाइ गरेका छन् ।

प्रहरी प्रधान कार्यालय नक्सालमा आज आयोजित एक समारोहका बीच उनलाई बिदाइ गर्दै महानिरीक्षक सिंहले उनले अविछिन्न सेवाद्वारा नागिरक र सङ्गठनलाई गरेको योगदानको प्रशंसा गरे । उनले अवकाशपछिको व्यावसायिक एवं सुखमय पारिवारिक जीवनको शुभकामना पनि व्यक्त गरे ।

विभिन्न कालखण्डमा सफल महिला कमाण्डरका रूपमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै प्रहरी महानिरीक्षक सिंहले सेवा निवृत्तपछि पनि सङ्गठनलाई उनीबाट रचनात्मक सहयोगको अपेक्षा राखेको बताए ।

सेवा निवृत्त हुन लागेकी प्रहरी अतिरिक्त महानिरीक्षक सिंहले एकपटकको प्रहरी सधैँ प्रहरी रहने भएकाले आफू बर्दीयुक्त जीवनबाट मात्र अवकाश हुन लागेको बताए ।

प्रहरी सेवामा रहने क्रममा सङ्गठनका सदस्यबाट प्राप्त सद्भावप्रति सधैँ ऋणी रहने बताउँदै उनले यो अवस्थासम्म आइपुग्ने क्रममा नेतृत्व विकासमा मार्गदर्शन गर्ने अग्रज प्रहरीप्रति सम्मान व्यक्त गरे। उनले ने, “नेपाल प्रहरीको प्रशासनतर्फको पहिलो महिला प्रहरी अरिरिक्त महानिरीक्षक हुने क्रममा तालुक गृह मन्त्रालय र प्रहरी महानिरीक्षकको भूमिकाप्रति आभार एवं कृतज्ञता व्यक्त गर्न चाहन्छु ।”

उनी विसं २०४९ चैत ११ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेकी थिईन्। प्रहरी अतिरिक्त महानिरीक्षक प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्षीय उमेरहदका कारण उनी यही फागुन ७ गते अवकाश हुन लागेकी हुन् ।