प्रदेश 1

लिङ्गखेप र सृजल पोख्रेललाई खुला ब्याडमिटनको उपाधि

२ चैत्र, झापाको बिर्तामोडमा सञ्चालन भएको चौथो कोसी प्रदेशस्तरीय खुल्ला ब्याडमिटन प्रतियोगिताको खुलातर्फको उपाधि सङ्खुवासभाका पबिन लिङ्गखेप र सृजल पोख्रेलको जोडीले जितेको छ ।

लिङ्गखेप र पोख्रेलको जोडीले भोजपुरका विशाल तामाङ र निश्चल खत्रीको जोडीलाई २५–२३ र २६–२४ को सोजो सेटमा हराएको हो । जितसँगै लिङ्गखेप र पोख्रेलको जोडीले रु ५० हजारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । तामाङ र खत्रीको जोडीले रु ३० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गरे ।

यस्तै झापाको बिर्तामोडका नबिल सिलवाल र विवेक कन्दङवाको जोडी तथा मेची ब्याडमिन्टन क्लब काकरभिट्टाका प्रनिशसिंह ठकुरी र गौरव दाहालको जोडी तेस्रो भयो । दुवै समुहले रु सात हजार पाँच सय नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसैगरी ४५ वर्ष माथिको भेट्रान्सतर्फ ताप्लेजुङका मदन लिम्बू र घनेन्द्र लिम्बूको जोडीले बिर्तामोडका सञ्जय भक्तराज र रमेश प्रसाईको जोडीलाई २१–१४ र २१–१० को सोजो सेटमा हराउँदै उपाधि जिते । जितसँगै उनीहरुले रु ३० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । भक्तराज र प्रसाईको जोडीले रु १५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

बिर्तामोडका श्रीकृष्ण खड्का र राम अवतार घिमिरेको जोडी तथा सुनसरीका श्याम लामा र भजनलाल चौधरीको जोडी सो स्पर्धाहमा तेस्रो भयो । उनीहरुले रु सात हजार पाँच सय प्राप्त गरे । लायन्स क्लब अफ अनारमनी र लायन्स क्लब अफ बिर्तामोडको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगितामा कोसी प्रदेशका ८६ खेलाडी सहभागी थिए ।