प्रदेश 2

दलहरु बस्ती पसेपछि जनतामा उत्साह

१५ चैत्र, महोत्तरी । चुनाव सकिएपछि दलका नेता गाउँ-नगर बस्तीमा भेटिदैनन् भन्ने मान्यता महोत्तरीका आम जनताले फेर्दैछन् । “न चुनाव छ, न ठूलाबडा मन्त्रीका लावालश्करको सवारी छ, यसबेला पनि नेपाली कांग्रेस, नेकपा एमालेका नेता कार्यकर्ता हालचाल सोध्दै आएका छन्”, महोत्तरीको सुदूरदक्षिण पश्चिमी बस्ती सोनमा गाउँपालिकाको मगरथाना बस्तीका रामदेव रायले भने, “दलका नेता आएर हालचाल सोध्ने र गुनासो सुनी दिँदा पनि कोही छन् भन्ने लाग्दो रहेछ ।”

अहिले कांग्रेस महोत्तरीले जारी राखेको ‘पदयात्रा’ र एमालेको ‘मिसन ग्रासरुट’ अभियानका क्रममा दुबै दलका नेता बस्ती–बस्तीमा भेटिएपछि सर्वसाधारण मन फुकाएर गुनासो गरिरहेका भेटिन्छन् । “गाली केही हैन नि १ आएनन्, हाम्रो कुरा सुनी दिएनन् भन्ने न गुनासो हो” गौशाला–७ मनरवाका ७० वर्षीय चन्देश्वर महतो भन्छन्, “अहिले भने भोट माग्न हैन, हाम्रो हालचाल नै सोध्न, बुझ्न आएजस्तो लागेको छ ।” ‘पदयात्रा’ र ‘मिसन ग्रासरुट’ अभियानका क्रममा गाउँ-नगर बस्ती पसेका दलका नेताहरुबारे आम जनताको सकारात्मक प्रतिक्रिया सुनिन्छ ।

“चुनाव नजिकिएपछि ‘लत हामी तिम्रै त हौँं’ भन्दै गाउँघरमा देखिने, चुनाव सकिएपछि कुनै काम पर्दा खोजी मर्दा नेता नभेटिने परिपाटी नै बसेजस्तो भा’थ्यो”, गौशाला–५ का ६५ वर्षीय गङ्गानारायण श्रेष्ठ भन्छन्, “अहिले त मुख्य भनिने दल कांग्रेस र एमालेका जिल्लाका चिनिएका नेता सबै गाउँ बस्तीमै भेटिदैछन्, हामीले मन फुकाएर गुनासो गर्न पा’का छौँं ।”

कांग्रेस महोत्तरीले गत शनिबार जिल्लाभरको ‘पदयात्रा’ अभियान सुरु गरेको छ । जिल्लाको सुदुर उत्तरवर्ती खयरमाराबाट सुरु यस अभियानमा दलका जिल्लाभित्रका ३० जना अगुवा नेता सहभागी छन् । पदयात्रा अघिल्लो जुन बस्तीमा पुग्छ, त्यहाँका पार्टी सदस्य सहभागी हुँदै सर्वसाधारणसँग भेटघाट गर्दै स्थानीय गुनासो सुन्दै पदयात्री हिँडेका छन् । “हामी यात्राका क्रममा जुनजुन बस्ती पस्छौँ, आम जनता आफ्ना समस्या सुनाउँछन्, पदयात्राका क्रममा जनतासँग एकाकार हुँदैछौँ भन्ने लागि रहेको छ”, पदयात्रामा सहभागी कांग्रेसको महोत्तरी–३ बाट महासमिति सदस्य बजरङ नेपाली भन्छन्, “साँझ-बिहान चियाखाजा खाने ठाउँ, खाना र बास बस्ने ठाउँमा झन् खुलेर आम जनताले कुरा राख्दैछन्, जनतासँगको उठबस रमाइलो छ ।”

यही चैत ११ गतेदेखि २५ गतेसम्मको ‘पदयात्रा’ मा जिल्लाका १५ वटै स्थानीयतहका बस्ती पुगिने गरी तालिका बनेको छ । “जनतासँग भेट्ने, जनताले दिएको नै खाने र बास बस्ने ठाउँमा कार्यकर्ता र जनतासँग स्थानीय समस्याबारे कुरा हुन्छ”, कांग्रेस जिल्ला सभापति नागेश्वर यादव भन्छन्, “यो पदयात्राले जिल्लाभित्रका अहिलेका मुख्य समस्याबारे अवगत हुँदैगएको छ ।”

अभियानका क्रममा जिल्लाका १५ स्थानीयतहका दुई भन्दा बढी बस्ती पुगिने यादवको भनाइ छ । चैत २५ गते जिल्ला सदरमुकाम जलेश्वरमा समापन गरिने यो पदयात्रा कार्यक्रममा चियाखाजा, दिउँसोको खाना, रात्रिको खाना र बाँसका ठाउँ पूर्वनिर्धारित छन् । ‘पदयात्रा’बारे जनताको चासोले पार्टीले गर्नपर्ने अबका कामबारे निर्देशित गर्ने सहभागी बताउँछन् ।

कांग्रेसको पदयात्रासँगै अर्को मुख्य दल नेकपा एमाले पनि अहिले ‘मिसन ग्रासरुट’ अभियानका साथ बस्तीबस्ती पसेको छ । मुख्यत सङ्गठन सुदृढिकरण र विस्तारको कार्यभारसहित गत फागुन–५ गते सुरु भएको दुई महिने यो अभियानमा पार्टीका उपल्लोतहदेखि आधारभूत तह (बस्ती, टोल) सम्मका कार्यकर्ता परिचालित रहेका एमाले जिल्ला अध्यक्ष कालीचन्द्र साह बताउनुहुन्छ । पार्टीमा सङ्गठित सबैलाई परिभाषित जिम्मेवारी दिइएको साहको भनाइ छ ।

नेकाको ‘पदयात्रा’ र एमालेको ‘मिसन ग्रासरुट’ अभियानले मुख्य दुई दलका नेता बस्ती केन्द्रित भएपछि जिल्लाका सबैजसो बस्तीमा अहिले राजनीतिक चहलपहल बढेको छ । “गुनासोसहित फेरि पनि भरोसा त यिनैमाथि छ, यी जनताकहाँ पुग्न छाडे, ठाउँ बिर्से भन्ने गुनासो गरिएको न हो”, भङ्गाहा–४ का बासिन्दा पूर्वशिक्षक (सेवानिवृत) रघुवीर साह भन्छन्, “यी जनतानेर पुग्दैछन्, गुनासो सुन्दैछन् भने त ठिक हुँदैछ, अरु दल पनि यसैगरी आआफ्ना अभियानसाथ बस्ती पसुन्, यसले स्थानीय समस्याको सम्बोधनमा सहयोग पु¥याउने छ ।”

जनताले सुखदुःखमा साथ खोज्नु स्वभाविक भएको हुँदा अहिले सुनिने गुनासोले जनतासँगै जोडिन प्रेरित गरेको ‘मिसन ग्रासरुट’ मा गौशालाका लागि खटिएका एमालेका मधेश प्रदेश कमिटी सदस्य गुञ्ज खड्का बताउँछन् ।

आम रुपमा कृषि नै जीवनको मुख्य आधार रहेको जिल्लाका बस्तीमा सर्वसाधारणले गर्ने गुनासोमा खेतीपातीसम्बद्ध सुविधाकै कमीका कुरा पर्छन् । “स्थायी र भरपर्दो सिञ्चाइ सुविधा छैन, समयमा बीउ, मल पाउँदैनौँ, किसानका लागि सहुलियत भनिएका कुरा पनि टाठाबाठाले कुम्लयाउँछन्, चाहिएको बेला सरलसुलभ ऋण पाइँदैन”, आम जनताले गरेका गुनासा बढी यस्तै पाइएको कांग्रेसका महासमिति सदस्य नेपाली बताउँछन् ।