१० बैसाख, काठमाडौं । फागुन २७ गतेबाट शुरु भएको यस महायज्ञको निरन्तरता स्वरूप परम पूज्य स्वामी श्रीप्रखरजी महाराजको सत्सङ्कल्पमा आज बैशाख १० गते अक्षय तृतीयाका दिन सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्यतामा तथा माननीय उपप्रधान एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठको विशिष्ट आतिथ्यता र माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीको विशेष आतिथ्यतामा समुद्घाटन भएको छ ।
अयुतचण्डी एवं श्रीमहागणपति विराट महायज्ञ आयोजक समिति एवं मारवाडी सेवा समिति नेपालका अध्यक्ष कैलाशचन्द्र गोयलको सभापतित्वमा भएको समुदघाटन कार्यक्रममा अध्यक्षले उपस्थित सम्पूर्ण महानुभावहरुको स्वागत गर्दैै महायज्ञमा तीन सयभन्दा धेरै विद्वान् ब्राह्मणहरुको सहभागिता रहने, कर्मनिष्ठ विद्वान् ब्राह्मणहरूद्वारा यज्ञ अवधिभरिमा १० हजार श्रीदुर्गासप्तशती पाठ र ४० हजार गणपति अथर्वशीर्ष पाठ गरिने, एक हजार दुर्गासप्तशती पाठ तथा चार हजार श्रीगणपति अथर्वशीर्ष पाठद्वारा एक सय कुण्डमा दशांश हवन, तर्पण, मार्जन गरिने, प्रतिदिन प्रत्येक कुण्डमा एक यजमान दम्पति गरी एक सय यजमान दम्पतिको सहभागिता रहने र महायज्ञमा जम्मा एक करोड दशलाख दुर्गासप्तशती मन्त्र र एक लाख त्रिचालीस हजार श्रीगणेश मन्त्रको प्रयोग हुने बताउँदै परम पूज्य स्वामी श्रीप्रखरजी महाराजको सत्सङ्कल्पमा माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको उपस्थितिमा २०७९ साल फाल्गुण महिनाको २७ गते भूमिपूजन एवं मण्डप निर्माण, गौरीगणेश पूजन, प्रधान सङ्कल्पपूर्वक आभ्युदयिक श्राद्ध, नवग्रहपूजा, मातृका पूजासहित शुभारम्भ भई फागुन २८ गते पञ्चमी तिथीबाट प्रतिदिन दुर्गासप्तशती, गणेश अथर्वशीर्ष, श्रीसूक्त आदिको नित्य निरन्तर पाठ पारायण भइरहेको जानकारी गराए ।
सो कार्यक्रममा वास्तुविद एवं यजमानहरुका प्रमुख डा. वासुदेवकृष्ण शास्त्रीले यज्ञको विशेषता बारे प्रकाश पारेका थिए ।
नेपाल नेपालीप्रति अगाध माया गर्नु हुने सुशिल कोईराला श्रीप्रखर क्यान्सर अस्पतालका निर्माता परम पूज्य स्वामी श्रीप्रखरजी महाराजले आर्शिवचन प्रदान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादव, विशिष्ट अतिथि माननीय उपप्रधान एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठ र विशेष अतिथि माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले सम्बोधन गर्दै मारवाडी सेवा समिति नेपालको तत्वावधानमा नेपालमा प्रथम पटक आयोजना भएको अयुतचण्डी एवं श्रीमहागणपति विराट महायज्ञको प्रशंसा गर्नु भई देशको आर्थिक, व्यवसायिक एवं औद्योगिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएको मारवाडी समाजको संस्थाबाट भएको यस कार्यबाट देशको पर्यटन, धर्म संस्कृतिको संरक्षण एवं विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्दै महायज्ञको पूर्ण सफलताको लागि शुभकामना दिए । कार्यक्रममा उपस्थितहरु एवं यस महायज्ञ आयोजनाको लागि सहयोग गर्नु हुने सम्पूर्णलाई अयुतचण्डी एवं श्रीमहागणपति विराट महायज्ञ आयोजक समिति एवं मारवाडी सेवा समिति नेपालका महासचिव प्रमोद कुमार अग्रवालले धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रमको संचालन गौशाला धर्मशालाका उपाध्यक्ष एवं महायज्ञ आयोजक समितिका सदस्य रमेश तापडियाले गरेका थिए ।





