अन्तर्राष्ट्रिय

भारतको कर्नाटक राज्यमा कांग्रेसलाई स्पष्ट बहुमत, भाजपा ६५ सिटमा खुम्चियो

३१ बैशाख, काठमाडौँ । भारतको कर्नाटक राज्यमा भारतीय राष्ट्रिय काङ्ग्रेसले स्पष्ट बहुमत प्राप्त गरेको छ ।

दुई सय २४ सदस्यीय विधानसभामा बहुमतका लागि एक सय १३ सिट आवश्यक पर्नेमा काङ्ग्रेसले एक सय ३६ सिट जितेको छ ।

शनिबार राति सम्पन्न भएको मतगणनाअनुसार कांग्रेसले १ सय ३७ सिटमा विजयी हासिल गरेको छ । सरकार बनाउन आवश्यक १ सय १३ सिट भन्दा बढी स्थानमा विजयी हासिल गरेर कांग्रेस कर्नाटकमा पहिलो पार्टी भएको हो ।

यसैगरी, दोस्रो स्थानमा भारतीय जनता पार्टी (बिजेपी) रहेको छ । ६५ सिट मात्र जितेपछि भाजपाले कर्नाटक चुनावमा आफ्नो पराजय स्वीकार गरेको छ ।

उता, जेडीएसले १९ सिटमा जीत हासिल गरेको छ भने अन्यको खातामा ३ सिट परेको छ । कर्नाटकमा विगत ३८ वर्षदेखिको निर्वाचनको परम्परा यसपटक कायम रहन पुगेको छ । अर्थात, कर्नाटकमा मतदाताले सरकारलाई दोहोरिन दिएका छैनन् ।

कर्नाटक निर्वाचनमा भाजपाको पराजयको जिम्मेवारी लिएर बसवराज बोम्मईले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । उनले गभर्नरलाई राजीनामा बुझाएका छन् ।