राजनीति

नक्कली शरणार्थी प्रकरण: बालकृष्ण–टोपबहादुरसहित १६ जना पक्राउ, प्रतिवेदन बुझाउन प्रहरीलाई दबाब

५ जेठ, काठमाडाैँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन् ।

बिहीबार भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शम्शेर मियाँ पक्राउ परेसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको हो । यसअघि नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण, नेकपा एमालेका टोपबहादुर रायमाझीलयायत १४ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

अनुसन्धानका क्रममा प्रहरीले नयाँनयाँ सूचना फेला परिरहेको छ । साथसाथै पक्राउ पर्नेको संख्या पनि बढिरहेको छ । तर प्रहरीलाई समयसीमा भित्र अनुसन्धान सकेर प्रतिवेदन बुझाउन सकस पर्ने देखिएको छ ।

संगठित अपराध निवारण ऐन, २०७० अनुसार पक्राउ परेका व्यक्तिलाई ६० दिन हिरासतमा राखेर अनुसन्धान गर्न सकिने प्रावधान छ ।

यो प्रकरणमा प्रहरीले पहिलो प्रतिवादी पक्राउ गरेको आज (शुक्रबार) ५६ औं दिन पुगिसकेको छ । तर प्रहरीले बिहीबार मात्रै थप दुई जनालाई पक्राउ गरेको छ । उनीहरुको बयान, फेला पर्ने थप तथ्यलगायतलाई अध्ययन गरेर प्रहरीलाई प्रतिवेदन तयार पार्न निकै कठिन पर्ने देखिन्छ ।

सरकारी वकिल कार्यालयबाट प्रतिवेदन छिटो बुझाउन दबाब आइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले बताए । अनुसन्धान क्रममा नयाँनयाँ सूचना फेला परिरहेकाले सूचनाको तथ्य जाँच र आरोपितसमक्ष पुग्न समय अभाव देखिएको उनको भनाइ छ ।

नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा जिल्ला प्रहरी परिसर काठमाडौंलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं जिल्लामा रहेका प्रहरी वृत्तहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र प्रहरी प्रधान कार्यालय नक्सालले पनि सघाइरहेका छन् । तर समयसीमा भित्र प्रतिवेदन तयार पारेर सरकारी वकिलको कार्यालयमा बुझाउन प्रहरीलाई कठिन परिरहेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले यसअघि प्रहरीलाई बुधबारभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । बुधबार प्रहरीले प्रतिवेदन बुझाउन नसक्ने भएपछि सरकारी वकिलको कार्यालयले शुक्रबार सम्मको समय थप गरेको थियो ।
घटना र परिस्थितिको गाम्भीर्यलाई हेरेर शुक्रबारसम्म समय थपिएको जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौंले जनाएको छ ।