राजनीति

कांग्रेस महासमिति सदस्य कृष्ण मुरारी गुरुङ ठगी आरोपमा पक्राउ

६ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका महासमिति सदस्य कृष्ण मुरारी गुरुङ पक्राउ परेका छन् । करिब साढे ९ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

काठमाडौं जिल्ला प्रहरी परिसर टेकुले गुरुङलाई विभिन्न व्यक्तिको नगद तथा सुनसहित करिब ९ करोड ६० लाख रुपैयाँ विभिन्न प्रलोभन देखाई ठगी गरेका आरोपमा पक्राउ गरिएको जनाएको छ ।

प्रहरी उपरीक्षक सिताराम रिजालका अनुसार उनले सुरेश केसीसँग पटक–पटक गरी नगद ७ करोड ७५ लाख रुपैयाँ र २० तोला सुन ठगी गरेका थिए । यस्तै, देउबहादुर गुरुङबाट तीस लाख रूपैयाँ लिएर उनी फरार भएका थिए ।

सिन्धुली गोलन्जोर गाँउपालिका वडा नं. ४ घर भएका वर्ष ४३ वर्षीय गुरुङलाई ठगी आरोपमा पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।