समाचार

नक्कली शरणार्थी प्रकरण : रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाइँदै

८ जेठ, काठमाडौँ । नक्कली शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले आज सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ । कानुनले आकर्षित गर्ने सबै दफाको माग दाबीसहित अभियोजन गर्ने गरी तयार पारिएको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

परिसरका अनुसार अनुसन्धान प्रतिवेदन बिहान १० बजे सरकारी वकिलको कार्यालयमा बुझाउने प्रहरीको तयारी छ ।

प्रहरीले आज अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको भए पनि अझै उजुरी आउने क्रम रोकिएको छैन । आइतबार मात्रै थप पाँचवटा उजुरी परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामाथि अनुसन्धानसँगै प्रहरीले प्रतिवेदन बनाइरहँदा उजरी पनि आइरहेका छन्। नक्कली शरणार्थी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परिसकेका छन्। थप १६ जनालाई फरार प्रतिवादीका रुपमा प्रतिवेदनमा समावेश गरिनेछ ।

प्रहरीले स्पष्ट संलग्नता देखिएका ३२ जनालाई प्रतिवादी बनाएर सोमबार रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाउँदैछ । यस घटनामा १०६ जना पीडितबाट कम्तिमा २४ करोड रुपैयाँ ठगी भएको उजुरी परेको प्रहरीले जनाएको छ ।