समाचार

प्रतिनिधि सभा बैठक : नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने

१२ जेठ, काठमाडौँ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ ।

बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने भएका छन् ।

प्रधानमन्त्रीको जवाफपछि नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने र पारित गर्ने आजको सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रिय सभाले नीति तथा कार्यक्रम पारित गरिसके पनि प्रतिनिधि सभामा छलफल जारी छ ।

संसद सचिवालयले सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीमा सुरुमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने र त्यसपछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिने उल्लेख छ ।