समाचार

रेशम चौधरीको मुद्दामा आज सर्वोच्चमा सुनवाइ हुँदै

१७ जेठ, काठमाडौँ । रेशम चौधरीलाई आममाफी दिएपछि सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आज सुनुवाइ हुँदैछ।

टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहरा कडायतले आइतबार दर्ता गराएको रिट निवेदनमा सुनुवाइ गर्नका लागि अदालतले पेसी तोकेको छ ।

हत्याकाण्डका मुख्य योजनाकारका रूपमा रेशमविरुद्ध कैलाली जिल्ला अदालत, दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले गत जेठ २ गते मात्रै सदर गरेको थियो।

तर गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि उनी यही जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका छन् ।

आममाफी नदिएको भए चौधरी २०९४ सालसम्म जेलमा नै बस्नु पर्ने थियो । अदालतको फैसला अनुसार थप १४ वर्ष जेल बस्नु पर्नु भए पनि आममाफीपछि सो कैद मिनाहा भएर उनी कारागार मुक्त भएका हुन् ।

चौधरी रिहा भएपछि शारदाले सर्वोच्चमा रिट निवेदन दिएकी थिइन् ।