प्रदेश 1

कृषि तथा पशु अनुसन्धान केन्द्र स्थापना

२१ असार, ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले कृषि तथा पशु अनुसन्धान केन्द्र स्थापना गरेको छ । अनुसन्धान केन्द्रको संरचना निर्माण तथा आवश्यक जनशक्तिको व्यवस्था गर्नका लागि गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु ६५ लाख ५० हजार विनियोजन गरेको छ ।

चालु आवमा गाउँपालिकाको स्वामित्वमा रहने गरी फक्ताङलुङ–५ छिरुवामा अनुसन्धान केन्द्र सञ्चालन गर्न रु २२ लाखको पूर्वाधार निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले बताए। ज्ञान केन्द्रमा पहिलो चरणमा गाई र बाख्रा फार्म सञ्चलन गर्ने तयारी भइरहेको उनले बताए। “दूधजन्य पदार्थमा आत्मनिर्भर हुनका लागि यस आवमा उन्नत जातका गाई र बाख्रा खरिद गर्ने प्रक्रिया सुरु भएको छ”, लिम्बूले भने।

ज्ञान केन्द्र सञ्चालन गर्न १० रोपनी जग्गा भाडा लिइएको छ । अहिले घाँस रोप्ने कार्य भइरहेको छ । ज्ञान केन्द्रमार्फत पशुपालन र तरकारी उत्पादन गर्ने तयारी भइरहेको कृषि शाखाले जनाएको छ । कर्मचारी व्यवस्थापनको तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका लागि आवश्यक कृषिजन्य वस्तु अनुसन्धान केन्द्रबाटै उत्पादन गर्ने योजना छ ।

कृषि तथा पशु अनुसन्धान केन्द्रलाई सहयोग गर्न र पालिका क्षेत्रमा प्रयोग गर्न प्राङ्गारिक मल उत्पादन गर्ने तथा जैविक मल उत्पादन केन्द्रको विकास गर्ने लक्ष्यसहित फक्ताङलुङ गाउँपालिका र अलमोष्ट हेवन फार्मबीच सम्झौता भई मल उत्पादनको प्रक्रिया सुरु भएको गाउँपालिकाले जनाएको छ ।

अनुसन्धान केन्द्रमार्फत पशुपन्छीको परीक्षण गर्ने र नश्ल सुधार गर्न उन्नत जातका बीउका लागि पशुपन्छी खरिद गर्ने गाउँपालिकाको योजना छ । आधुनिक प्रविधिका नर्सरी फार्म सञ्चालन गर्ने र उच्च कोटी तथा बहुमूल्य वनस्पतीको बिरुवा उत्पादन गर्ने अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रले गाउँपालिकाभित्रका किसानलाई पुग्ने जैविक मल आफैँले उत्पादन गर्नका लागि मल कारखाना स्थापान गरिसकेको छ ।