प्रदेश 1

बिपीको ४१औँ स्मृति दिवसमा फलफूल वितरण

६ साउन, ताप्लेजुङ । प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता स्वं विश्वेश्वरप्रसाद कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा नेपाल विद्यार्थी सङ्घले जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ ।

आज पार्टीका जिल्लास्तरीय नेता तथा नेविसङ्घका कार्यकर्ताले जिल्ला अस्पतालमै पुगेर उपचाररत रहेका बिरामीलाई फलफूल वितरण गरेका हुन् । उपचाररत २४ बिरामीलाई फलफूल वितरण गरिएको नेविसङ्घका कार्यवाहक जिल्ला सभापति अर्जुन तिवारीले जानकारी दिए।

यसैबीच फलफूल वितरण कार्यक्रमकाबीच पार्टीका जिल्ला सभापति गजेन्द्र तुम्याहाङले नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका संस्थापक नेता कोइरालाको योगदानलाई भुल्न नहुने बताए।

स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसले पार्टी कार्यालयमा माल्यापर्ण कार्यक्रम गरेको छ भने जिल्लाका नौवटै स्थानीय तहमा वृक्षरोपणका कार्यक्रम गरिए पार्टी सभापति तुम्याहाङले जानकारी दिए।
संसदीय निर्वाचनपछि विसं २०१६ मा कोइराला नेपालको प्रथम निर्वाचित प्रधानमन्त्री बनेका थिए । कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको विसं १९७१ मा जन्म भएको थियो भने विसं २०३९ साउन ६ गते निधन भएको थियो ।