२५ असार, काठमाडौं । हमासको एक प्रतिनिधिमण्डलले बिहीबार कायरोमा इजिप्टेली अधिकारीहरूसँग गाजा युद्धविराम सम्झौताको दोस्रो चरण कार्यान्वयनका लागि व्यवस्था मिलाउने विषयमा ‘महत्वपूर्ण’ वार्ता गरेको इजिप्टको सुरक्षा स्रोतले बताएको छ। स्रोतले नाम उल्लेख नगर्ने शर्तमा भनेको छ, “प्रतिनिधिमण्डलले गाजा शान्ति योजनाको अर्को चरणको तयारीबारे छलफल गरेको थियो ।” स्रोतले बताएको छ, “हमासले गाजा पट्टीलाई गाजा प्रशासनका लागि राष्ट्रिय समितिलाई हस्तान्तरण गर्न तयार रहेको पुनः पुष्टि गरेको छ, जसले योजनाको दोस्रो चरणको बाटो खोल्छ ।
दोस्रो चरणमा इजरायली सेनाको गाजाबाट पूर्ण रूपमा फिर्ता हुने व्यवस्था छ । समूहले आफ्ना हतियारहरू समितिको जिम्मामा राख्ने सहमति गरेको छ र शान्ति सेना तथा राष्ट्रिय समितिको कामलाई सहज बनाउन तयार रहेको जनाएको छ । स्रोतका अनुसार मध्यस्थकर्ताहरूले अमेरिका नेतृत्वको ‘शान्ति समिति“ बाट दक्षिणी गाजाको रफाह शहरमा ‘मध्यवती क्षेत्र’ स्थापना गर्ने प्रस्ताव प्राप्त गरेका छन्।
यो क्षेत्रले सुरक्षा जाँचपछि हजारौँ बासिन्दालाई स्थानान्तरण गर्न सक्नेछ । मध्यस्थकर्ता तथा सबै सम्बन्धित पक्षहरूले योजनालाई कार्यान्वयन गर्न निकट समन्वय गरिरहेका छन्। यो वार्ता हमासले सोमबार गाजामा आपतकालीन सरकार समिति भङ्ग गर्ने र गाजा पट्टीको प्रशासन राष्ट्रिय समितिलाई हस्तान्तरण गर्ने घोषणा गरेपछि भएको हो। सन् २०२६ जनवरीमा गठित यो १५ सदस्यीय सङ्क्रमणकालीन प्राविधिक समितिमा स्वतन्त्र प्यालेस्टिनी व्यक्तिहरू छन्, जसलाई सङ्क्रमणकालमा नागरिक मामिला, सार्वजनिक सेवा र पुनर्निर्माणको जिम्मेवारी दिइएको छ । हमास र इजरायलबीच सन् २०२५ अक्टोबर १० देखि युद्धविराम लागू भएको छ ।
यसको पहिलो चरणमा बन्धक तथा कैदी आदान–प्रदान, गाजामा मानवीय सहायता प्रवेश र केही क्षेत्रबाट इजरायली सेनाको फिर्ता समावेश थियो । संयुक्त राज्य अमेरिकाले जनवरीको मध्यतिर आफ्नो शान्ति योजनाको दोस्रो चरण सुरु भएको घोषणा गरेको थियो। यसमा इजरायली सेनाको गाजाबाट पूर्ण फिर्ता, हमासको निशस्त्रीकरण, पुनर्निर्माणको सुरुवात र गाजामा सङ्क्रमणकालीन शासकीय प्राधिकरण स्थापना गर्ने योजना छ।




