साहित्य

सिद्धिस्वरमान अक्षलोक साहित्यिक पुरस्कार

६ साउन, काठमाडौँ । सिद्धिस्वरमान अक्षलोक साहित्यिक केन्द्रले विभिन्न व्यक्तिलाई ‘सिद्धिस्वरमान अक्षलोक साहित्यिक पुरस्कार’ प्रदान गरेको छ ।

केन्द्रद्वारा आज यहाँ आयोजित ‘सम्मान, पुरस्कार अर्पण तथा पुस्तक लोकार्पण कार्यक्रम’मा नेपाली साहित्य, शिक्षा, समाज सेवालगायतका क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिलाई प्रदान गरिएको जनाएको छ ।

केन्द्रका अनुसार ‘नेपाल भाषाको आमा खम्बा’ पुरस्कार प्रकाश प्रधानाङ्ग, सत्यभामा माथेमा, नारायणदेवी श्रेष्ठ र सुवर्णकेशरी चित्रकारलाई प्रदान गरिएको छ । साथै ‘नेपाल भाषाको तिकी झ्याः’ पुरस्कार प्रतिसरा सायमी, सुलोचना मानन्धर, भूषणप्रसाद श्रेष्ठ र शशिकला मानन्धरलाई प्रदान गरिएको छ ।

नेपाल भाषाको आधारस्तम्भ मूःथा सम्मान स्व मोतीलक्ष्मी उपासिका, सिद्धिश्वरमान उत्कृष्ट साहित्यिक उत्प्रेरणा सम्मान उषा शेरचन, सिद्धिश्वरमान उत्कृष्ट नियात्रा साधक सम्मान घनश्याम राजकर्णिकार, सिद्धिश्वरमान उत्कृष्ट स्वास्थ्य तथा समाज सेवा सम्मान प्रा डा निराकारमान श्रेष्ठ, सिद्धिश्वरमान उत्कृष्ट युगल शिक्षा साधक सम्मान डा अम्भु भवानी कार्की, राजराम सैँजुलाई प्रदान गरिएको छ ।

सिद्धिश्वरमान उत्कृष्ट सूचना साधक सम्मानबाट स्व. पुस्करलाल श्रेष्ठ, सिद्धिश्वरमान उत्कृष्ट भाषा तथा शिक्षा सम्मानबाट प्रा डा सुन्दरकृष्ण जोशी, सिद्धिश्वरमान उत्कृष्ट सञ्चार साधक सम्मानबाट कुमार रञ्जित, सिद्धिश्वरमान उत्कृष्ट साहित्य साधक सम्मानबाट भद्रकुमारी घले, सिद्धिश्वरमान उत्कृष्ट भाषा तथा संस्कृति संरक्षक सम्मानबाट अनिल महर्जन सम्मानित भएका छन् ।

बाल साहित्य क्षेत्रमा पुर्याएको योगदानस्वरुप सिद्धिश्वरमान आजीवन साहित्य साधना पुरस्कारबाट बाल साहित्यकार शान्तदास मानन्धर नगद रु १० हजारसहित सम्मानित भएका छन् । त्यस्तै शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानस्वरुप सिद्धिश्वरमान–महेश्वरमान श्रेष्ठ उत्कृष्ट प्राध्यापक उत्प्रेरणा पुरस्कारबाट नगद रु १० हजारसहित प्रा डा शिवराज अधिकारी सम्मानित भएका छन् ।

समाज सेवा क्षेत्रमा पुर्‍याएको योगदानस्वरुप सिद्धिश्वरमान-चन्द्रविष्णु अन्तर्राष्ट्रिय सामाजिक योगदान पुरस्कारबाट नगद रु १० हजारसहित सरला श्रेष्ठ सम्मानित भएका छन् भने सिद्धिश्वरमान-विष्णुकुमार अग्रवाल उत्कृष्ट साना उद्यमी प्रोत्साहन पुरस्कारबाट नगद रु एक हजार एक सय एकसहित शैलाजा कसजु सम्मानित भएका छन् ।

सो अवसरमा वरिष्ठ लेखक मोतीलक्ष्मी शाक्यले केन्द्रले नेपाली साहित्यमा नेपाल भाषा समेटेकामा खुसी व्यक्त गर्दै सम्मानित व्यक्तित्वको योगदानप्रति आभार प्रकट गरे । सम्मानित व्यक्तित्वको तर्फबाट बाल साहित्यकार शान्तादास मानन्धरले नेपाली साहित्यमा सिद्धिस्वरमानको योगदान अमूल्य रहेको बताउँदै उनले सिकाएको संस्कृति अबको पुस्तालाई हस्तान्तरण गर्नुपर्ने आवश्यक रहेको बताए ।

केन्द्रका अध्यक्ष सुजन श्रेष्ठले केन्द्रले आगामी वर्षमा पनि नयाँ कृति विशेषाङ्कसहित सम्मान कार्यक्रम गरिने बताए । कार्यक्रममा सिद्धिस्वरमान श्रेष्ठका लेख, रचनाको सङ्ग्रह ‘अक्षलोक’ र आमाछोरी सावित्रा श्रेष्ठ र डा स्वर्णिमा श्रेष्ठद्वारा संयुक्तरूपमा लिखित ‘असाधारण’ कविता सङ्ग्रह लोकार्पण गरिएको थियो ।