प्रदेश 1

मदनडाँगी–ताराबारी डिपु सडक निर्माण गरिँदै

१३ साउन, दमक । झापाको दमक नगरपालिकाअन्तर्गतको मदनडाँगी–ताराबारी डिपु सडक निर्माण थालिएको छ । दमक–१ र ५ वडा हुँदै दमक–४ को ताराबारी डिपुसम्मको सो सडकको शिलान्यास गरिएको छ ।

विश्व बैंकको सहयोगमा बन्न लागेको उक्त चार लेन सडकको नगरप्रमुख रामकुमार थापा र उपप्रमुख रेगिना भट्टराईले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । सडक शिलान्यास गर्दै नगरप्रमुख थापाले तोकिएको समयमा सम्पन्न गर्न सम्बन्धित ठेकेदार कम्पनीलाई आग्रह गरे।

नगरउपप्रमुख भट्टराईले सडक निर्माणका लागि रेखदेख समितिले निरन्तर काम गर्ने र कुनै गुनासो भए गुनासो सुनुवाइ समितिले सहजीकरण गर्ने उल्लेख गरे।

सडकको बीचमा हरियाली क्षेत्रको व्यवस्था गरिएको छ । सडकको दुवैतर्फ बिजुली बत्तीको जडान गरिने र नाला निर्माण गरिने छ । पाँच किलोमिटर लामो सो सडक निर्माणका लागि रु ४४ करोड २४ लाखमा ठेक्का सम्झौता भएको दमक नगरपालिकाका इन्जिनियर अनन्त सेनेहाङले जानकारी दिए। सडक निर्माणका लागि विश्व बैंकले नेपाल सरकारलाई सरल ब्याजदरमा ऋण उपलब्ध गराएको हो । विसं २०८२ असारसम्ममा सडक निर्माण सक्नुपर्ने सम्झौतामा उल्लेख छ ।