गण्डकी प्रदेश

वृद्धद्वारा नेत्रहीन सङ्घलाई जग्गादान

१९ साउन, तनहुँ । तनहुँको व्यास नगरपालिका–५ पाटनका केबी गुरुङले तनहुँ नेत्रहीन सङ्घलाई जग्गादान गरेका छन् । नब्बे वर्षीय गुरुङले करिब रु २५ लाख मूल्यको चार आना दुई दाम जग्गा उपलब्ध गराएका हुन् ।

सङ्घलाई एक वर्षअघि नै जग्गादान गर्न चाहे पनि अस्वस्थ्य भएका कारण ढिला भएको उनले बताए। व्यास–५ पाटनका गुरुङ कृषि अधिकृत पदको जागिर छाडेर बागवानी विकासमा लागेका छन् । आठ वर्षसम्म अधिकृत पदमा काम गरेका उनले जागिर छाडेर आफ्नै बागवानी कृषि फार्म सञ्चालन गरेका छन्. । करिब एक सय रोपनी क्षेत्रफलमा गुरुङले आँप, लिची, सुन्तला, एभोकाडोलगायत फलफूलखेती गर्दै आएका छन् ।
त्यसैगरी गुरुङले लगाएको अगरउड २६ वर्ष पूरा भएका दुई सय ५० र पाँच वर्ष पुगेका दुई हजार रुख रहेका छन् । अगरउडका रुख एक–दुई वर्षभित्र बिक्रीमा आउने तयारी भइरहेको उनले बताए।

अगरउड ५० वर्ष पुगेपछि एक किसिमको चोप निस्कन्छ । उनले भने, “सुनको मूल्यमा बिक्री हुन्छ, जुन अत्यधिक महँगो र बास्नादार वस्तु उत्पादन हुन्छ ।” गुरुङका दुवै मिर्गौलामा खराबी आएपछि उपचार गर्दै आएका छन्।

जग्गा प्राप्त भएपछि नियमित कार्यालय सञ्चालन र तालिम केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको सङ्घका संस्थापक अध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो । “तीनवटै सरकार तथा अन्यबाट आर्थिक स्रोत जुटाएर भवन निर्माणको योजना छ”, उनले भने। हाल तनहुँ नेत्रहीन सङ्घमा ७० जना आबद्ध छन् ।