बाग्मती

शैक्षिक सामग्री निर्माण गर्न शिक्षकलाई तालिम

२१ साउन, ललितपुर । बागमती गाउँपालिका वडा १ देखि ५ सम्मका विद्यालयका शिक्षकलाई शैक्षिक सामग्री निर्माण तथा प्रयोगसम्बन्धी आधारभूत तालिम प्रदान गर्न सुरु भएको छ ।

जनभावना क्याम्पस चापागाउँमा बागमती गाउँपालिकाद्वारा आयोजित सो १० दिने तालिमको नेपाली कांग्रेस बागमती प्रदेशसभा सदस्य मीनकृष्ण महर्जनले शुभारम्भ गर्दै शैक्षिक उन्ननयका लागि सामूहिक प्रयत्नको खाँचो औँल्याए ।
बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले तालिमको प्रभावकारिता र पालिकामा रहेका ४६ विद्यालयको अवस्था, समस्या र अपेक्षाका लागि नियमित अनुगमन गर्ने तथा राम्रो गर्नेलाई पुरस्कृत गर्ने बताए। उनले यस चालु आवमा शिक्षकका लागि बागमती प्रदेश सरकारले ७६ लाख पाँच सय ७१ विनियोजन गरेको जानकारी दिए।

तालिममा शिक्षण सिकाइ, व्यवस्थापन, समस्या, चुनौतीका बारे सिकाइ हुने अपेक्षा राखिएको छ ।