राजनीति

ल्हारक्याल लामा नियुक्तिमा सरकारको गम्भीर गल्ती : महामन्त्री शर्मा

२२ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ल्यारक्याल लामालाई नियुक्त गर्ने सरकारको निर्णयप्रति प्रष्ट विमती भएको बताएका छन्

महामन्त्री शर्माले लुम्बिनी विकास कोषको उपाध्यक्षमा लामाको नियुक्तिले गलत सन्देश दिएको बताए । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, “म यो विषयमा प्रष्ट विमती राख्न चाहन्छु । मैले रक्षामन्त्री र कानुनमन्त्रीसँग सम्पर्क गरेर ध्यानाकर्षण गराएको छु । यो निर्णय सरकारको निर्णय हो । यो निर्णयको स्वामित्व नेपाली कांग्रेस बोक्दैन ।”

त्यस्तै, उनले गौतम बुद्धको जन्मथलोमा नेतृत्व गर्ने व्यक्ति नियुक्तिमा सरकार गम्भीर हुन नसकेको बताए । “यस्तो थलोमा नेतृत्व चयन गर्दै गर्दाखेरी सरकारले गम्भिरतापूर्वक कस्तो पृष्ठभूमिको, के योग्यता कस्तो छविको भनेर ध्यान नपुर्‍याउनु वर्तमान सरकारको गम्भीर गल्ती ‘ उनले भने ।