समाचार

सुरुङमार्ग ‘ब्रेक थ्रु’को विष्फोटनसँगै यातायातमा नयाँ युगको सुरुआत

२२ साउन, काठमाडौँ । नागढुङ्गा सुरुङ निर्माण आयोजनाअन्तर्गत आपत्कालीन उद्धार सुरुङ (रेस्क्यु टनेल)को सोमबार ‘ब्रेक थ्रु’ भएको छ । उक्त सुरुङमार्ग वारपार छिचोलिएसँगै मुलुकको यातायात क्षेत्रमा नयाँ युगको सुरुआत भएको बताइएको छ ।

नेपालको यातायात क्षेत्रको पहिलो आधुनिक सुरुङमार्ग निर्माण थालिएको तीन वर्ष सात महिनामा आपत्कालीन सुरुङको आज ‘ब्रेक थ्रु’ गरिएको हो । नागढुङ्गा सिस्नेखोला सुरुङमार्गअन्तर्गत उक्त सुरुङको आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, नेपालका लागि जापानी राजदूत किकुता युताकाले दुवै देशको संस्कृतिअनुसार पूजा गरेर ‘ब्रेक थ्रु’ गरेका हुन् । सो अवसरमा भौतिक राज्यमन्त्री नन्दा चपार्इं, सडक विभागका महानिर्देशक सुशीलकुमार ढकाल, मन्त्रालयका सचिव केशवकुमार शर्मा, सञ्चारकर्मी, सो क्षेत्रका स्थानीय तहका प्रमुखलगायत सुरुङभित्रै सहभागी थिए ।

मुख्य सुरुङ छिचोल्न बाँकी नै भए पनि आपत्कालीन सुरुङ भने छिचोलिएको हो । आपत्कालीन उद्धार सुरुङको सफल ‘ब्रेक थ्रु’ उत्सवका अवसरमा मन्त्री ज्वालाले यो शुभारम्भ ऐतिहासिक र गौरवपूर्ण दिन भएको बताए । उहाँले केही समयपछि मुख्य सुरुङको पनि ‘ब्रेक थ्रु’ हुने र एक वर्षमा सुरुङमार्गमा यातायातका साधन सुचारु हुने विश्वास दिलाए ।

हाम्रै पालामा यातायात सुरुङमार्गमा प्रवेश गरेको उल्लेख गर्दै मन्त्री ज्वालाले नियमित अनुगमन गरेर निर्धारित समयमा सो मार्ग सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । निर्माणका क्रममा केही समस्या भए सरोकारवालासँग बसेर हल गर्न आफू तत्पर रहेको उहाँले विश्वास दिलाए । साथै मन्त्री ज्वालाले आयोजनामा आर्थिक सहयोग गर्ने जापान सरकार र जाइकालाई धन्यवाद दिँदैै नेपालको पूर्वाधार क्षेत्रको विकासमा आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे ।

सो अवसरमा राजदूत किकुताले सुरुङमार्गको ‘ब्रेक थ्रु’मा भएको विष्फोटनको आवाजले नेपालमा नयाँ युगको आरम्भको सङ्केत गरेको बताउँदै आफू यसको प्रत्यक्षदर्शी हुन पाउनु गौरवको विषय हो भने । उनले यस्तो चुनौतीपूर्ण निर्माण परियोजनामा संलग्न सबैप्रति सम्मान व्यक्त गर्दै सबैको एक एक योगदानले आजको सफलता सम्भव भएको उल्लेख गरे ।

आयोजनाको निर्माण सम्पूर्ण कार्य सम्पन्न हुन केही समय लाग्ने र त्यसदिनको प्रतीक्षारत रहेको उल्लेख गर्दै उहाँले नेपालमा आजको यो दिन अविष्मरणीय रहने बताए ।