समाचार

न्यू मिडियालाई स्वनियमनबाट नै व्यवस्थित गर्नुपर्छ : सञ्चार मन्त्री

२२ साउन, भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले न्यू मिडियाको व्यवस्थापन स्वनियमनबाट नै गर्न सकिने बताएकी छन् ।

प्रेस काउन्सिल नेपालले आज भक्तपुरमा गरेको न्यू मिडिया र आचारसंहिताका चुनौती विषयक ‘सम्पादक संवाद’ कार्यक्रममा सम्बोधन गर्दै मन्त्री शर्माले न्यू मिडियालाई स्वअनुशासित गराउने, स्वनियमनमा राख्ने विषय चुनौतीपूर्ण रहेको भए पनि यसैबाट व्यवस्थापन गर्नुपर्ने बताइन ।

“न्यू मिडिया पनि मिडिया हो, यसले पनि अगाडि बढ्न खोज्दैछ । हाम्रो समाजमा अहिले जे परिवर्तन आयो, त्यसलाई आत्मसाथ गर्न सकेनौँ भने त डायनोसर बन्ने स्थिति पनि बन्ला”, उनले भनिन्, ‘सबैभन्दा ठूलो कुरा स्वनियमन र आचारसंहिता हो । यो नभए कानून पनि त चाहिएला । त्यसतर्फ सोचौँ ।”

मन्त्री शर्माले सञ्चार माध्यमले सकारात्मक पक्षको उजागर गर्न आवश्यक रहेको बताइन । “एउटा पत्रकारले बदमासी ग¥यो भने सबै पत्रकार बदमास, एउटा राजनीतिज्ञले बदमासी ग¥यो भने सबै नेता खराब, एउटा कर्मचारीले बदमासी ग¥यो भने कर्मचारीतन्त्र सबै खराब हो भन्नेजस्तो देखाइएको छ । हामी अलि बढी नकरात्मक समाचारमा रमाउन थालेका छौँ । नकारात्मक मात्रै छ कि जस्तो भयो । समाजमा सकारात्मक पक्ष पनि छ, त्यसलाई प्रोत्साहन गरौँ”, उनले भनिन् ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार माध्यमको परिवर्तित अभ्यास, काउन्सिल र सरकारको भूमिका र कामलाई समीक्षा गरी सुझावअनुसार काउन्सिल अगाडि बढ्न तयार रहेको बताए । “हामीले के गरिरहेका छौँ ? पत्र कसलाई काट्यौँ ? के कुरामा काट्यौँ वा काटेनौँ ? भन्ने जस्ता विषयमा पनि प्रष्ट सुझाव आओस्”, उनले भने ।