राजनीति

सुन तस्कारीमा गृहमन्त्री र अर्थमन्त्रीमाथि नै छानबिन गर्नुपर्छ : एमाले

२३ साउन, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा पनि सुन तस्कारीको घटनाबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग दोहोर्‍याइएको छ ।

बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद् योगेश भट्टराईले सुन तस्कारीमा गृहमन्त्री र अर्थमन्त्रीमाथि नै छानबिन गर्नुुपर्ने भएकाले उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने बताएका छन् ।

त्यस्तै, उनले गृहमन्त्री र अर्थमन्त्रीमाथि नै बयान लिनुपर्ने भन्दै उच्चस्तरीय छानबिन नबने कसले बयान लिन्छ भनेर प्रश्न गरे । उनले सार्वजनिक लेखासमितिको बैठकले पनि समिति गठन गर्न सरकारलाई गम्भीर ध्यानाकर्षण गराएको स्मरण गराए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीले सोही विषयमा राखेको सार्वजनिक महत्वको प्रस्तावमा आफ्नो पार्टीको समर्थन गरेको स्पष्ट गरे ।

भट्टराईले तीन दलका शीर्ष नेताको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको प्रतिबद्धता व्यवहारमा रुपान्तरण भएमा सदनमा एमालेले कुनै अवरोध नगर्ने उल्लेख गरे ।

यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा बाहिरिएको र पक्राउ परेको करिब एक सय किलो सुन तस्करीका सम्बन्धमा उच्चस्तरीय छानबिनको माग गर्दै एमाले सदनको अवरोध जारी राखेपछि प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसेको थियो । उक्त बैठकमा शीर्ष नेता सदन सञ्चालनमा सकारात्मक भएपछि आजको प्रतिनिधिसभाको बैठक बसेको हो । सो विषयमा अन्य दलका सांसद्ले पनि बोल्ने क्रम जारी छ ।