राजनीति

सुन तस्करीमा छानबिन समिति बनाउँदा प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : बामदेव गौतम

२४ साउन, काठमाडौं । राष्ट्रियसभा सदस्य बामदेव गौतमले एमालेको माग अनुसार सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने हो भने प्रधानमन्त्रीले राजीनामा गर्ने स्थिति आउने बताएका छन् ।

बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै गौतमले उच्चस्तरीय छानबिन समिति गठन गर्ने हो भने प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री डा. प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि पनि छानबिन हुन सक्ने र त्यसका लागि उनीहरुले राजीनामा गर्ने अवस्था आउने बताए ।

उनले अघि भने, “त्यस (उच्चस्तरीय छानबिन समिति) को निर्माण गर्नेबित्तिकै कार्यादेश हुन्छ, कार्यक्षेत्र हुन्छ, कहाँसम्म प्रवेश गर्ने भन्ने हुन्छ । त्यो प्रधानमन्त्रीसम्म प्रवेश गर्छ, अर्थमन्त्रीसम्म पनि प्रवेश गर्छ, गृहमन्त्रीसम्म पनि प्रवेश गर्ने त्यसले अधिकार माग्दछ ।”

“हाम्रोमा निलम्बन गर्ने व्यवस्था त छैन । प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने हुन्छ”, उनले भने, “राजीनामा गरेपछि अर्को प्रधानमन्त्री निर्वाचित गर्ने प्रक्रिया सुरु हुन्छ, जसले यो छानबिन ओझेलमा पारिदिन्छ ।”

एमालेको माग अनुसार उच्चस्तरीय छानबिन समिति गठन गर्ने हो भने अहिले भइरहेको छानबिन पनि प्रभावित हुने नेता गौतमले बताए । बरु अविश्वास प्रस्ताव ल्याएर प्रधानमन्त्री हटाउन उनले सुझाव दिए । ‘यदि त्यसरी प्रधानमन्त्रीलाई हटाउने हो भने सिधै अविश्वास प्रस्ताव लगे भइहाल्यो’ उनले भने ।